धवल र प्रसाईंबीच नयाँ दल खोल्ने सहमति


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवल शमशेर राणा र नागरिक बचाउ महाअभियानमा संयोजक दुर्गा प्रसाईंबीच नयाँ पार्टी बनाउने सम्झौता भएको छ । राणा र प्रसाईंले शुक्रबार नयाँ दल गठन गर्नका लागि ११ बुँदे सहमति गरेका हुन् ।

सार्वजनिक गरिएको सम्झौतापत्रमा मुलुकको भू अखण्डता, साँस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता र भाषिक विविधताको संरक्षण गर्दै ‘किराँत र बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य’ निर्माण गर्ने प्रतिज्ञा गरिएको छ ।
सम्झौतापत्रमा पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन, राष्ट्रिय स्वाभिमानसहितको सुधारमूखी संघीयता, एक पटकको नेपाली सधैँको नेपाली र दोहोरो नागरिकता राख्न पाउनु पर्नेलगायत नीति लिने उल्लेख छ ।
























