गैडहवा गाउंपालिकाले ल्यायो झण्डै ७६ करोड बजेट

कृषि, शिक्षा, स्वास्थ्य, रोजगार ब्यपार, पर्यटनलाई प्राथमिकता

श्यामलाल पोखरेल बुटवल, असार ९ ।  “कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र ब्यपार, पर्यटनलाई प्रमुखता दिंदै रुपन्देहीको गैडहवा गाउँपालिकाले आर्थिक वर्ष २०७८ र ०७९ का लागि ६६ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँसमाभा पालिका अध्यक्ष बछुलाल केवटले निति तथा कार्यक्रम र बजेट पेस गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले जानकारी गराउनु भएको छ ।

गाउँपालिकाको आठौं गाउ सभामा बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । गाउँपालिकाले आर्थिक विकास अन्र्तगत कृषिमा ६० लाख, पशुमा ४५ लाख, अन्य आय आर्जन पर्यटनमा ५९ लाख रुपैया छुट्टयाएको छ । यस्तै, सामाजिक बिकासतर्फ शिक्षामा १ करोड १० लाख, स्वास्थ्यमा ८० लाख, आयुर्वेदमा २० लाख, सांस्कृतिक मेलामा २७ लाख, खेलकुदमा १० लाख, खानेपानीमा २० लाख, लैङ्गिक समानत महिला भनेर १५ लाख, बेटी बचो बेटी बढाउ कार्यक्रमका लागि २५ लाख र लक्षिततर्फ ४० लाख रुपैयाँ छुट्टयाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले जानकारी दिनुभयो ।

पूर्वाधार विकासतर्फ गाउँपालिका भवन निर्माणको लागि ३ करोड, ९ वटै वडाको लागी कालोपत्रेको लागि २ करोड ७० लाख, यशोधरा पार्कको लागि १ करोड, सिंचाइृमा २० लाख रुपैयाँ बिनियोजन गरिएको घिमिरेले जानकारी गराउनु भयो ।

गाउँ सभामा निति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष केवटले गाउँपालिकामा ५ करोड भन्दा बढी लगानीका उद्योग स्थापना गर्ने उद्योगहरुको लागी ५ बर्ष बराबरको गैडहवा गाउँपालिकामा लाग्ने सम्पूर्ण कर छुट दिने नीति लिएको जानकारी गराउनु भयो । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नजिक रहेको तथा प्राकृतिक सम्पदा र सौन्दर्य मनोरम भूमि, कृषि र पर्यटनको केन्द्रको रुपमा रहेको, पुरातात्विक ऐतिहासिक, सांस्कृतिक गौरव, कृषि उपजहरुको उर्वर भूमि रहे पनि यो क्षेत्र छाया परेकोले यी सबैको उत्थानको लागी गाउँपालिकाले बिशेष नितिहरु बनाएको केवटको भनाई छ ।

गाउँपालिकाकै नामाकरण भएको गैडहवा ताल, तुल्सिहवा ताल, शहदि पार्क, रामजानकी मन्दिर, सन्तेश्वर घाट, जोगडेश्वर महादेव, यशोधरा माताको मन्दिर एवम बाल उद्यानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र त्यसलाई आर्थिक विकासका अवसरहरुसंग जोड्ने गरि निरन्तरता दिइने लक्ष्य राखिएको छ । यस्तै गैडहवा तालमा पर्यटक ल्याउने र उनिहरुको बसाई अवधि लम्ब्याउन होम स्टे सञ्चालनमा ल्याउने गाउँपालिकाले योजना बनाएको छ ।

गाउँपालिकाले आफ्नो निति तथा कार्यक्तममा नदिजन्य निर्माण सामाग्रीबाट उठेको रकमको ३० प्रतिशत रकम सोही वडामा रहने निर्णय समेत गरेको छ । बुधबार सार्वजनिक भएको निति तथा कार्यक्रममा गाउँपालिकाको दिर्घकालीन विकासको अवधारणा अनुसार नीति लिईएको छ । यसको लागी स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक विकास, भौतिक पूर्वाधार लगाएतका बिषयलाई प्राथमिकतामा राखी सोही अनुसारको योजना बनाईएको गाउँपालिका अध्यक्ष केवटले जानकारी दिनुभयो ।

कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, संस्कृति र सभ्यतालाई गैडहवा गाउँपालिकाले अघि सारिएको छ । सुखी जनता र समृद्ध गैडहवाको प्रतिवद्धता भन्ने दीर्घकालिन सोच र विकासका सबै चरणहरुमा जनताको अर्थपूर्ण सहभागितासहित सन्तुलित र चौतर्फी विकास नै गाउँपालिकाको प्राथमिकता राखिएको छ ।

कोभिड–१९ को कारण गाउँपालिकाको बिकास निर्माण देखी अन्य सबै कार्यहरु प्रभावित भएको र बेरोजगारी समेत बढाएको अवश्थामा पालिका स्तरमै रहेका बिभिन्न औद्योगिक प्रतिष्ठानको सहकार्यमा रोजगारीको ब्यवस्था गरिँदै छ । यस अतिरिक्त गाउँपालिकामै कृषिलाई प्राथमिकतामा राखी स्वरोजगारको अवसर पनि उपलब्ध गराईने नीति ल्याइएको छ ।

दीर्घकालीन कृषि योजनाले अवलम्वन गरेका नीतिहरुका आधारमा खाद्यान्न बाली, नगदे बाली, तेलहन बाली, दलहन बाली तथा च्याउ खेती, व्यवसायिक तरकारी खेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहु बालीको पकेट क्षेत्रको रुपमा विकास गरिने गाउँपालिकाले जनाएको छ ।

यसको लागी संघीय र प्रदेश सरकारको समेत सहयोगमा कृषिलाई उकास्ने काम गरिने उल्लेख छ । गैडहवां गाउंपालिकाले कृषि, शिक्षा, रोजगार, र व्यापार, पर्यटनसहितको पूर्वाधार गैडहवा विकासको आधार भन्ने मूल नारालाई अगाडी सासिरएको छ ।