संघीयता र एमसीसी अघि बढाए गठबन्दनमा बस्न नसकिने – चित्रबहादुर

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र एमसीसीको उपदेश नदिन गठबन्दन दलका नेताहरुलाई खवरदारी गरेका छन् ।

पांच दलीय गठबन्दनमा संघीयता र एमसीसीलाई प्राथमिकता दिए राष्ट्रिय जनमोर्चा गठबन्दनमा नबस्ने संकेत गर्नुभयो । अध्यक्ष केसीले कुनै पनि विवादित विषय नल्याउन सरकारलाई आग्रह गरे ।

बुधबारको पांच दलीय गठबन्धनको बैठकमा सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे भण्डाफोर गर्ने बताउदै केसीले भने विवादित विषय प्रवेश नगराउन सरकारलाई आग्रह गरे ।

बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई बलियो बनाउनुपर्ने धारणा राखेपछि अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाका सामु संघीयताको अर्ती उपदेश दिन आवश्यक नरहेको भन्दै संघीयता र एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए ।

संघीयताको भारी तपाईहरुले बोकेको हो, राष्ट्रिय जनमोर्चाले होइन भन्दै अध्यक्ष केसीले भने संघीयता र एमसीसीका कारण उत्पन्न विकृतिको जिम्मेवारी पनि तपाईहरु नै हो । राष्ट्रिय जनमोर्चाले यसको विरोध र भण्डाफोर गर्छ र गर्दै आएको छ, हामीलाई संघीयताको अर्ती उपदेश दिन आवश्यक छैन ।

अमेरिकी सहयोग एमसीसी अघि नबढाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्यक्ष केसीले सचेत गराएका छन् । हामीले कुनै पनि विवादित विषय नल्याउन सरकारलाई खबरदारी गरिरहेका छौं अध्यक्ष केसीको भनाइ छ । राष्ट्रको सार्वभौमिकतामाथि असर पार्ने एमसीसी जस्ता गम्भीर विषय अघि नबढाउनुहोस् ।

यदी सरकारले गलत काम गर्ने हो भने राष्ट्रिय जनमोर्चाले साथ नदिने अध्यक्ष केसीले बताए । राष्ट्रियताको रक्षा र शुसासनका विषयमा मात्रै राष्ट्रिय जनमोर्चाले यो सरकारलाई साथ दिने बताउंदै पूर्ववर्ती केपी ओली सरकारले गरेका कमजोरी नदोहोर्याउन अध्यक्ष केसीको आग्रह छ । सरकारले स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्दा विगतकै गल्ती दोहोर्याएको उल्लेख गर्दै यसले जनतामा राम्रो सन्देश नगएको बताए ।

कोरोना विरुद्धको खोपका लागि विदेशीको अनुदान र सहयोग पर्खेर नबसी सरकार आफैले खरिद गरेर सबै जनतालाई खोप उपलब्ध गराउन अध्यक्ष केसीको सरकारलाइ सुझाव छ । बाढी पहिरोपीडित जनताको तत्काल उचित व्यवस्था गर्न आग्रह गरे ।

एक दुइ दिन भित्रै मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको उक्त बैठकमा अध्यक्ष केसीले आफूहरु सरकारमा सहभागी नहुने र प्रतिपक्षमा बस्ने स्पष्ट पार्दै प्रतिपक्षको बेन्चबाटै राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने दोहोर्याए ।

बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक कुमार राई, राजमो अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र एमाले नेपाल समूहबाट डा. पौडेलको सहभागिता रहेको थियो ।

उक्त पांच दलीय गठबन्दनकोको बैठकमा नेकपा एमाले नेपाल समूहका नेता डा. विजय पौडेलले पार्टी सरकारमा सहभागी हुने तर तत्काल नआउने बताए ।