सगुन लोकार्पण

बुटवल, मंसिर २४ गते । साहित्यकार दुर्गा थापा मगरको पहिलो कृति सगुन कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा सगुन कविता सङ्ग्रहको लोकापण गरिएको हो ।

शास्त्रीय छन्दमा लेखिएका ७० वटा कविता समावेश गरिएको उक्त कविता सङ्ग्रहमा संस्कृति, प्रकृति, देशप्रेम, कर्म, कला, इतिहास, राजनीति लगायत युगीन विषयवस्तुलाई समेटिएको छ । परिष्कृत र सुललित भाषाशैलीमा लेखिएका कवितामा यथास्थिति भन्दा अग्रगामी निकासको खोजी गरिएको छ भने छब्बिस वटा छन्दको प्रयोग गरिएको छ ।

उक्त लोकापण कार्यक्रममा बोल्दै प्राज्ञ प्रा.डा. देवी नेपालले छन्द कवितालाई स्तुति, प्रशस्ती र भजनमा परिणत नर्गन सुझाव दिए । सम्पत्ति दाजुभाइमा बाँड्नु परे पनि कृति नामसारी नहुने बताउंदै उनले भने – कीर्ति राख्न उत्कृष्ट काव्यकृति रचना गर्नुपर्छ ।

कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषि आजाद, साझा प्रकाशनका लबप्रसाद भण्डारी, साहित्यकार ऋषिराम भुसाल, गिरी श्रीस, रुद्र ज्ञवाली, प्राज्ञ बूंद राना, जङ्गबहादुर शाह, गोपाल सन्जेल, राजु अर्याल, जनजागरण महिला समूहकी अध्यक्ष मञ्जु खड्का, ठगबहादुर दर्लामी, धनबहादुर थापा, वेदप्रसाद पन्थ, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठानकी सहसचिव सुमित्रा रानाको सभाध्यक्षता, उपाध्यक्ष कृष्ण गाउंलेको स्वागत, विजय सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयले बताए ।