रामचन्द्र– मैनादेवी अनाथ आश्रमको साधारण सभा, आश्रमका लागि सहयोग गर्ने प्रतिवद्दता

बुटवल, पुस ७ गते । अभिभावक बिहिन तथा असहाय बालवालिकाको लागि रुपन्देही तिलोत्तमा वडा नम्बर ६ मा अनाथ आश्रम सञ्चालन गरिएको छ । सडक बालवालिकादेखि अभिभावक बिहिन बालबालिकाको संरक्षण गर्न रामचन्द्र मैनादेवी अनाथ आश्रम सञ्चालन गरिएको हो । २०५३ सालमा स्थापना भएको रामचन्द्र मैनादेवी अनाथ आश्रमले शनिबार २७ औं वार्षिक साधारण सभा मनाएको छ ।

अनाथ तथा असहाय महिला कल्याण समाजद्वारा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमको साधारण सभामा सहभागिहरुले आश्रमको दीगो विकास र निरन्तरताका लागि सबै प्रकार सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् । साधारण सभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले आश्रम सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने प्रतिवद्वता जनाएका हुन् । अभिभावक बिहीन बालवालिकाको संरक्षणका लागि सबैको साथसहयोग आवश्यक पर्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले अनाथ बालवालिकाहरुको संरक्षणका लागि आश्रम सञ्चालन गर्न नगरपालिकाले पूर्णरुपले प्रतिवद्वता जनाएका छन् । आमा, बाउ तथा अभिभावक नभएका कारण घरबारबिहिन बालवालिकाले तिलोत्तमा मागेर खान नपर्ने बताउंदै त्यस्ता वालबालिकाहरुको संरक्षणका लागि सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रम जस्ता संस्थाहरुलाई सहयोग गर्ने नगर प्रमुख खांणले बताए ।

उनले राजनीति भन्दा माथि उठेर सामाजिक क्षेत्रको विकास लाग्नु पर्नेमा जोड दिनुभयो । आश्रमकी अध्यक्ष मैनतादेवी भण्डारीले आश्रम सबैको सम्पति भएको उल्लेख गर्दै सबैको आर्थिक र भौतिक सहयोगबाट आश्रमले गति लिएको बताए । अनाथ आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले अनाथ आश्रमको अहिले ६१ लाख अक्ष्यकोष रहेको जानकारी गराउंदै अक्ष्यकोष १ करोड पुराउने लक्ष्यरहेको जानकारी गराइन । उनले आश्रम सञ्चालन र अक्ष्यकोष पारदर्शी रुपले सञ्चालन भएको बताउंदै शंका लागेमा निगरानी गर्न आग्रह गगदैृ उनले भनिन् – सहयोग दाताको सहयोग र अक्षय कोषको ब्याजबाट आश्रम सञ्चालनमा खर्च गर्ने गरिएको छ ।

कार्यक्रममा समाजसेवी दुर्गाप्रसाद खरेल, शान्ति नमुना माध्यमिक विद्यालयका प्रध्यानध्यापक कुलप्रसाद लामिछाने, धनधान्य महायज्ञ सञ्चालन समितिका आर्थिक संयोजक डोलराज बस्याल, सीता वास्ताकोटी लगायतले बोल्दै अनाथ आश्रम सञ्चालनमा सबैको साथ सहयोग आवश्यक पर्नेमा जोड दिए ।

आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीको अध्यक्षता र चन्दा भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो । आश्रम सञ्चालनका लागि गत मंसिर १ गतेदेखि ८ गतेसम्म सञ्चालित धनधान्य महायज्ञबाट खर्च कटाएर ८ लाख ३३ हजार ८ सय ८८ रुपैयां संकलन भएको आर्थिक संयोजक डोलराज बस्यालले साधारण सभामा सार्वजनिक गरेका छन् ।

२७ औं वार्षिक साधारण सभाको अवसरमा सहयोगी संस्था शान्ति नमुना माध्यमिक विधालयलाई प्रसंसा पत्रले सम्मान गरिएको छ । उक्त सम्मान स्कुलका प्रह कुलप्रसाद लामिछानेले ग्रहण गरेका थिए ।

२०५३ सालमा स्थापना भएको आश्रमले सयौं वालबालिकालाई संरक्षण गरेर उच्च शिक्षा दिएको छ । तिलोत्तमा मणिग्रामकी मैनादेवी भण्डारीको एकल प्रयासमा सञ्चालित अनाथ आश्रममा अहिले १२ जना बिधार्थी छन् ।