बुटवलमा सार्वजनिक स्थलका घरटहरा हटाउने अभियान शुरु

बुटवल, पुस २२ गते । बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउन अभियान शुरु गरेको छ । विश्रामस्थल, पार्क र चौतारी निर्माण गर्ने उद्वेश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरिएको हो ।

आइतबार बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगञ्जरोडको एउटा टहरा भत्काइएको छ । सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटक– पटक पत्राचार गरेपनि टहरा नहटाएपछि आइतबार इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार नेपालगञ्ज रोडमा सार्वजनिकस्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बांकी टहराहरु हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी छ ।

वडा नम्बर ६ र अरु वडामा पनि सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ ।
बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्नका लागि पर्यटकीय स्थल, पार्कहरु, चौतारीहरु, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।