पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती

बुटवलमा शालिक अनावरण

बुटवल, पुस २७ गते । आज ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै देशभर पृथ्वी जयन्ती मनाइयो ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा वि.सं. १७७९ पुस २७ गते जन्मिनुभएका शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेका थिए ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको उपमा दिने गरिएको छ । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल हुनुभएको थियो ।

पृथ्वीनारायण शाहको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला कांगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहांस छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेको इतिहांले प्रमाणित गरेको छ । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौं उपत्यका विजय हासिल गरेका थिए ।नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढेको थियो ।

सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा सार्वजनिक विदा दिएको छ । यस्तै बुटवल– बेलहिया सडक खण्डमा निर्माण गरिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार उक्त सालिक अनावरण गरिएको हो ।

राप्रपाका स्थानीय नेता रुपसिंह थापा, निलम अधिकारी लगायतको अगुवाइमा बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नम्बर १० राजमार्ग चौराहदेखी दक्षणितर्फ सडकको हरियाली क्षेत्रमा सालिक निर्माण गरिएको थियो । थापाको अगुवाईमा गत पुस २७ गते राष्ट्र निर्माता शाहको पूर्ण कदको सालिकको शिलान्यास गरिएको थियो । बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बलु पुनले शिलान्यास गरेको उक्त सालिकको अनावरण भने थापाले गर्नुभएको हो ।

पछिल्लो समयमा राज्यका नेतृत्वमा पुगेकाहरुले ईतिहांस मेट्दै जांदा नयां पुस्ता ईतिहांस जान्नबाट विमुख हुने गरेकोले नयां पुस्ताले ईतिहांसबारे जानकारी लिन सकुन् भन्ने उद्देश्यले सडक किनारमा सालिक निर्माण गरिएको थापाले जानकारी दिए ।

करिब १७ लाख रुपैयांको लागतमा मूर्तिकार राजु तुलाधरले उक्त सालिक निर्माण गरेको बताइृएको छ ।
पाल्पामा
पाल्पामा राजनीतिक दलहरुले ३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश तानसेनमा मनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको आयोजनामा भएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशमा लुम्विनी प्रदेश सभा सदस्य, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, विभिन्न संघ संस्था, बुद्धिजिविहरु, तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप प्राध्यापक महेन्द्र पन्थीले पृथ्वी नारायण शाहाको एकीकरण अभियानकै कारण आज हामी स्वाभिमानी नेपाली भएर बाच्न पाएको बताए ।

कार्यक्रममा राप्रपाका केन्द्रिय कार्य सम्पादन समितीका सदस्य नारायण कोईराला, लुम्विनी प्रदेश सदस्य खेमबहादुर सारु, जिल्ला अध्यक्ष डुल बहादुर कुवंर लगायतले पृथ्वीनारायण शाहालाई देश तथा राष्ट्र निर्माताको रुपमा सबैले मान्नु पर्ने र पृथ्वीनारायण शाहाको उपदेशलाई राज्यले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

पृथ्वी जयन्ती तथा एकता दिवशको अवशरमा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधीहरु, संघ संस्था, पत्रकार नागरिक समाजमा क्रियासिल व्यक्तिलाई राप्रपा पाल्पाले जलपान कार्यक्रम गरेको थियो ।