आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक

बुटवल, जेठ १५ गते । सरकारले २०८१÷८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयांको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।

यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पूंजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८.९४ प्रतिशत हो ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.७४ प्रतिशत हो । यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयां हस्तान्तरण गर्दैछ । अघिल्लो वर्ष ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण भएको थियो । खर्च बेहोर्ने स्रोततर्फ राजस्वबाट सरकारले १२ खर्ब ६० अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको छ ।

आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब संकलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने अर्थ मन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिइएको बताए । त्यस्तै मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ । यस्तै सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्रीले एकीकृत विकासको अवधारणा अनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने बताए। अर्थमनत्रीका अनुसार परियोजना अन्तर्गत नीजि क्षेत्रसंगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ ।

गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने अर्थमन्त्रीले बजेट मार्फत बताए ।
त्रिभूजका ३ वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले जानकारी गराए ।
त्रिभूज परियोजना अन्तर्गत नारायणगढ–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमा विकास गरिनेछ ।