माओवादीका कारण परिवर्तन वामदेव


बुटवल, भदौ ८ गते । नेकपा माओवादी केन्द्र बुटवल वडा नम्बर ७ को दोश्रो वडा सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले डम्बरबहादुर गौचनको अध्यक्षतामा २१ सदस्यीय नयां कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा बालकृष्ण भुसाल, सचिवमा मुक्ति अधिकारी, सहसचिव सिता कुँवर, कोषाध्यक्ष ससी पौडेल निर्बिरोध निर्वाचित भएका छन् । 

यस्तै १८ सदस्य निर्बिरोध निर्वाचित भएका छन्, भने ३ सदस्यलाई मनोनित गरिने निर्वाचन कमिटिले जानकारी दिएको छ । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षत्रीको प्रमुख आतिथ्यतामा सम्मेलन भएको हो ।
उक्त सम्मेलनमा बोल्दै नेता बामदेव क्षत्रीले २०८४ को निर्वाचनमा माओबादी केन्द्र एक्लै निर्वाचन लड्ने बताए । उनले अहिले मु्लुक माओवादीको एजेण्डामा चलेको बताउंदै माओवादीकै कारण देशमा परिवर्तन भएको दावी गरे । परिवर्तनका उपलब्धीहरुलाई रक्षा गरेर देशलाई अगाडि बढाउने जिम्मावारी एमाओवादीको कांधमा आएको उनको दावी छ ।

नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुर्दशन बरालले माओबादी शक्ति एकताबद्द हुन्पर्ने बताउंदै परिवर्तनका उपलब्धी गुम्न सक्ने खतरा रहेकाले हाम्रो पार्टी माओवादीलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिए ।
नेकपा माओबादी केन्द्रका रुपन्देही ईन्चार्ज निर्मल जीसी, बुटवल नगर अध्यक्ष महेन्द्र भुसाल, सागर न्यौपाने, पुष्पराज ढकाल, सिता कुँवर, मुक्ति अधिकारी लगायतले बोल्दै माओवादी शक्ति कमजोर भए देश संकटमा पर्ने भएकाले प्रतिगामी शक्तिका विरुद्द हाम्रो पार्टी माओवादीलाई सशक्त रुपमा संगठित गर्नुको अर्को विकल्प नभएको बताए ।
उनीहरुले माओवादीका कारण परिवर्तन भएको बताउंदै परिवर्तनका उपलब्धीको पक्षमा माओवादीलाई उभाउनु पर्नेमा जोड दिए ।






















