वर्तमान सरकार बिचौलीहरुको सरकार होः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलीहरूको सरकार भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार गैरजिम्मेबार र सुशासन विरोधी सरकार भएको आरोप लगाए । उनले अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छेले अहिलेको सरकार बिचौलीको हो भनेर स्वीकार गरिसकेको बताए ।

उनले अहिलेको सरकारले दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने, राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने काम गरिरहेको आरोप लगाए । सडकमा लाखौँको सङ्ख्यामा शिक्षकहरुले आन्दोलन गरिरहँदा उनीहरुका माग पूरा गर्नुको सट्टा अहिलेको सरकार र सरकारको नेतृत्व गैरजिम्मेबार ढङ्गले शिक्षकहरुलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरुलाई अपमानित गर्ने काममा लागेको आरोप लगाए ।

प्रचण्डले भने, अहिले जो सरकार चलिरहेको छ । त्यो सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलीहरुको सरकार हो । अब त अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् । यो सरकार दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने, राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने सरकार हो भन्ने कुरा राम्रैसँग स्थापित भइसकेको छ । देशमा अहिले बडो विचित्रको स्थिति बनेको छ ।

एकातिर सडकमा लाखौँको सङ्ख्यामा आन्दोलनरत शिक्षकहरू छन् । झन्डै अब एक महिना हुन लाग्दै छ । तर जसले जिम्मेवारीपूर्वक शिक्षकहरुको माग समाधान गर्नुपर्ने हो त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैरजिम्मेबार ढङ्गले शिक्षकहरूलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकरुलाई अपमानित गर्ने काममा लागेको छ ।

प्रचण्डले शिक्षकहरुसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) शिक्षकहरुसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गरे ।