नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार
जनसंख्याको वृद्धिदर सबैभन्दा बढी लुम्बिनीमा
बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
सार्वजनिक विवरणानुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको विभागले जनाएको छ । जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।
नेपालमा पहिलोपटक वि.सं. १९६८ मा जनगणना भएको थियो । वि.सं. १९७७ र १९८७ मा जनसंख्या वृद्धिदर नेगेटिभ भएकोमा त्यसपछि वार्षिक जनसंख्या वृद्धिदर २०७८ को जनगणनामा कम पाइएको विभागले जनाएको छ ।
सबैभन्दा बढी लुम्बिनीमा
जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको छ केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा यस्तो उल्लेख भएको हो ।
यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
मनाङमा सबैभन्दा कम
नेपालका ७७ वटा जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ जना मात्र बसोबास गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ । यो वर्षको जनगणनाले हिमाली जिल्लामा तुलनात्मकरुपमा कम र तराईका जिल्लामा बढी मानिस बसोबास गर्ने गरेको पाइएको छ ।