अर्खाको लाटानाँच र बोक्सा लखेट्ने मेला
प्यूठान, साउन ६ गते । समाजमा धर्म, संस्कार आआफ्नै हुन्छन् । परम्पराकालदेखि धर्मसंग जोडिएका मेला पर्व पनि आआफ्नै रुपमा हुन्छन् । जसलाई समाजमा रहेका मानिसले आआफ्नै परम्परागत शैलीमा मान्ने र मनाउने गरिन्छ । प्यूठान गौमुखी गाउँपालिकाको अर्खाको डाँडागाउँका वान्दिाले आफ्नै तरिकाले परम्परादेखिको संस्कार मान्दै आएका छन् ।
अर्खाको प्यूठानको गौमुखी गाउँपालिकास्थित डाँडागाउँलाई अर्खाको पहिलो मानव बस्ती मानिन्छ। बाह्रघरे विक र त्यसपछि आएका मगरहरू त्यहांंका आदिवासी मानिन्नछन् । डाँडागाउँमा एक वर्ष बिराएर साउने संक्रांतीको भोलि पल्ट “लाटाखेल्ने र बोक्सा लखेट्ने“ ठूलो मेला लाग्दछ। यसवर्ष अर्खाको आदिम समाज र संस्कृति झल्काउने लाटानाँच र बोक्सा लखेट्ने मेला आयोजना गरियो ।
ठूलो संख्यामा झाक्रीहरु जम्मा भएर आफ्नै ढंगले निष्ठा पूर्वक खाली खुट्टा पूजाआजा गर्दै राँगोको वली दिएर पुजा गरेका थिए । दुई दर्जन बढी झाँक्रीहरुले ओखाभाका गर्दै ढेंग्रो बजाउँदै बाखर, छेलामाला, गरुड पङ्ख लगाएको विशेष खालको पहिरनमा सेतो कमेरो दलेका पचास भन्दा बढी लाटाहरु खेलाएको रोचक दृश्य देखियो । साँझमा राँगाको सिङ लतार्दै बस्तीको सीमा कटाई हलो गाडेर पुजाआजा गर्दै झाँक्रीको हुलले मेलामा “लाटाखेल्ने र बोक्सा लखेट्ने काम गरे ।
अर्खाबाट रजबारा तिर लखेटिएको बोक्सालाई रजबाराले फेरी मंसिर महिनामा झाक्रीहरु जम्मा गरेर यता फर्काइदिने चलन रहे छ । बोक्सा लखेट्दा समाजको सुरक्षा हुने र बोक्साले अनिष्ठ नगरोस र अकाल मृत्यु नहोस् भन्ने कमाना गरिन्छ। यस मेलासंग जोडिएको एउटा किंवदन्ती गाउँमा विद्यमान छ। डाँडागाउँको स्थापना कालमा ससाना चारजना बच्चाहरु बिस्कुन हेर्ने क्रममा चोयाँले बुनेको ’कोठा’ (अन्न राख्ने ठुलो भाँडो) भित्र पसे र त्यो डाँडागाउँको भिरबाट पल्टेर सबै बच्चाको सामूहिक मृत्यु भयो। भिरबाट लडेर कोही मान्छे मर्यो भने सोइरे वा सो मार्ने र हाम्रो समाजको पुरानो चलन हो। सोइरे नमारे त्यस ठाउँमा सोइरेले तानेर फेरी घटना दोहोरीन्छ भन्ने परापूर्व कालदेखि विश्वास रही आएको छ ।
पुरानो समाजले वोक्सा बोक्सिमा पनि ज्यादै विश्वास गर्दथ्यो। प्रायजसो मृत्यूका घटनामा वोक्सा वा बोक्सिले खाएको भन्ने भ्रम अहिले पनि उक्त गाउंमा कायमै छ ।
चार जना बच्चाको चार जना सामूहिक धामीझाँक्री बसाल्ने र बोक्सा लखेट्दै सो मार्ने गर्दा त्यहाँ लाटानाँचको प्रारम्भिक सुरुवात भएको भनिन्छ। तत्कालीन समाजमा वोक्सा बोक्सि लखेट्दा हाहा र होहो गर्दै फोहोर गाली र अश्लीलता प्रकट गर्ने गरिन्थ्यो ।
अश्लीलतासमेत प्रदर्शन गरिने हुँदा लाटाखेल्ने मेलामा महिलाहरुलाई जान लामो समयसम्म वर्जित थियो । आजकल ठूलो संख्यामा महिलाहरु मेलामा गएपनि अझै पनि मूल थलोमा महिलाहरु पुग्दैनन्। वर्तमान समाजको आखाँले हेर्दा लाटानाँचको छाडा र अश्लील पक्षलाई नियन्त्रित गर्नुपर्ने खाँचो देखिन्छ । तर यसको सट्टा लाटानाँचमा पशु अंगहरूको प्रदर्शन र अनियन्त्रित अश्लीलताले मेलाको गहनतालाई नै कमजोर गराएको देखिन्छ ।
लाटानाँचलाइ प्यूठानकै एक महत्वपूर्ण सांस्कृतिक मेलाको रुपमा विकास गर्न सम्भब छ। मेला व्यवस्थापन समितिको गठन, गाउँमा रहेका झार्कीहरुको सहभागितावृद्धि, मेलास्थलको सुधार गर्नुको साथै मेलाका आकर्षक मानिएका झाँक्री र लाटाहरुको उचित चाँजोपाँजो मिलाउनु आबस्यक छ। लोप हुँदै गएको झाँक्री संस्कृतिको संरक्षण र मौलिक मेलाको रूपमा लाटानाँचलाइ विकसित गर्न सकिन्छ।
अहिलेको नयां पुस्ताले हिजो भ्रमपूर्वक आएका कतिपय संस्कार तथा संस्कृति गलत भएकाले त्यसलाइृ सुधार गरेर आधुनिकीकरण गर्न आवश्यक छ ।
श्रोत राजनीतिक तथा सामाजिक व्यक्तित्व ज्ञामुराम न्यौपानेको फेसबुक वाल ।