सामुदायिक वन समन्वय समिति तिनाउको साधारण सभा

पाल्पा, असोज १४ गते । सामुदायिक वन समन्वय समिति, तिनाउ,पाल्पाको २१ ओैं वार्षिक साधारणसभा दोभानमा सम्पन्न भएको छ ।

सभामा संस्थाका महासचिव गणेश रास्कोटीले आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाले गरेका गतिविधिहरुको प्रगति प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी सोही आर्थिक वर्षको आर्थिक प्रगति प्रतिवेदन संस्थाका कोषाध्यक्ष बिनोदप्रसाद बस्यालले सुनाएका थिए । कोषाध्यक्ष बस्यालले २६ लाख ३२ हजार ८८५ रुपैयाँ बराबरको हिसावकिताव प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०८१÷०८२ का लागि संस्थाका अध्यक्ष दलबहादुर गुरुङले प्रस्तावित वार्षिक योजना तथा कार्यक्रमका लागि अनुमानित २२ लाख ५० हजारको वजेट पेश गरेका थिए । यो उक्त योजना पास गरिएको छ ।
सभाका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहहरुले आम्दानीको १०% रकम गाउँपालिकामा बुझाउनु पर्ने बताउँदै आफ्नो पालिका जल,जमिन र जंगलले धनी भएको बताउंदै सामूदायिक वनलाइ बलियो बनाउनु पर्नेमा जोड दिए ।
विशिष्ट अतिथिका रुपमा रहेका गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले वन डढेलो यस क्षेत्रकै मुख्य समस्या रहेकोले यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले विशेष योजना बनाएको जानकारी दिए । त्यसैगरी विशिष्ट अतिथिकै रुपमा रहेका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले वनमा अग्निरेखा बनाउने ,एक वन एक पोखरी खन्ने र सुकेका सालका पातलाई संकलन गरि जैविक मल बनाउन पालिकाले वजेट विनियोजन गरेको र समन्वय समितिसँग मिलेर पालिकाको वनसम्बन्धि योजनालाई कार्यान्वयन गर्ने प्रतिवद्वता जनाए ।

सो सभाका अतिथि तिनाउ सवडिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत प्रेम चौधरीले आफूले समन्वय समितिसँग हातेमालो गरि अघि बढ्न सक्रिय रहने सुनाए । संस्थाका सल्लाहकार पदमलाल शाक्य, वनघुस्री सावउसका अध्यक्ष रोमबहादुर लम्तरी,सामुदायिक वन समन्वय समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय लगायतले सहभागीलाई वन,वातावरण र जैविक विविधता संरक्षणका लागि सबै सरोकारवालाहरु एकजुट भई लाग्नुपर्ने,वन समूहमा देखिने प्राविधिक समस्याहरुलाई समाधान गर्नुपर्ने र आम्दानी एवम् उद्यमशीलतासँग वनलाई जोड्नुपर्ने उल्लेख गरेका थिए ।