दुर्घटना बढेकोप्रति सरोकारवालाको चिन्ता


बुटवल, बैशाख २२ गते । नेपालमा सवारी दुर्घटना बढिरहेको बताउंदै सरोकारवालाहरुले चिन्ता गरेका छन् । उनीहरुले सवार िदुर्घटना न्यूनीकरण गर्नुपर्ने र त्यसका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

विशेषगरी पहाडी तथा दुर्गम क्षेत्रका सडकहरूमा हुने दुर्घटना बढ्दै गएको बताउंदै ट्राफिक नियमको अवहेलना, तीव्र गति, सवारी साधनको कमजोर प्राविधिक अवस्था, चालकको लापरवाही तथा सडक पूर्वाधारको कमी नै दुर्घटनाका प्रमुख कारण बनेको बताए ।

सवारी दुर्घटना दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पश्चिम नेपाल बस प्रा.लि.ले सचेतानामूलक अभियान सञ्चालन गर्दै आएको छ । ‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आफ्ना चालक तथा सहचालकहरूलाई नियमित रूपमा सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गर्दै आएको छ ।
बुटवलमा आयोजित प्रशिक्षण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक प्रतिमा कार्कीले सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न प्रयासहरू गर्दै आएको बताए ।
प्रहरी निरिक्षक कार्कीका अनुसार ट्राफिक नियम कडाइका साथ लागू गर्ने, चालकहरूलाई तालिम दिने, सवारी साधनको नियमित चेकजाँच गर्ने, सडक स्तरोन्नति गर्ने लगायतका कार्यक्रम सञ्चालनमा छन् । साथै, बेलाबेलामा ट्राफिक सप्ताह मार्फत जनचेतनामूलक अभियानहरू पनि विभिन्न स्तरमा सञ्चालन भइरहेका छन् ।
“सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न प्रेरित गर्ने लक्ष्य राखिएको छ ।” पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले नेपाल सरकार, ट्राफिक प्रहरी र स्थानिय सरकारसँगको सहकार्यमा बसहरूको प्राविधिक अवस्था नियमित रूपमा परीक्षण गर्ने, गति नियन्त्रण प्रणाली जडान गर्ने तथा लामो दूरीका यात्रामा चालक परिवर्तनको व्यवस्था मिलाउने जस्ता उपायहरू अवलम्बन गरेको जनाएको छ ।
प्रा.लि. अन्तर्गत सञ्चालन हुने सवारी साधनहरूमा दुर्घटनाको दर उल्लेखनीय रूपमा घटेको दाबी गरिएको छ । प्रा.लिका अध्यक्ष दधिराम खरेलका अनुसार निरन्तर प्रशिक्षणका कारण २० देखि ३० प्रतिशत दुर्घटना कम भएको छ । अध्यक्ष खरेलको भनाई छ—“दुर्घटना न्यूनिकरणका लागि प्रयास मात्रै हैन, हामीले दुर्घटना पश्चात हुने क्षति न्यूनिकरण र उचित राहतको ब्यबस्थापन पनि गम्भिरता पुर्वक गरिरहेका छौं ।”
दुर्घटना न्यूनिकरण कार्यक्रमका संयोजक नारायण घिमिरेले नेपालमा सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारी तथा निजी क्षेत्रबाट भइरहेका प्रयासहरूले सकारात्मक संकेत देखाएको बताए ।
प्रा.लि.का संचालक जितेन्द्र खत्रीले सबैको साझा प्रयासबाट मात्रै दुर्घटना न्यूनिकरण सम्भव रहेकाले यो विषयमा जिम्मेवार बन्न सबै पक्षलाई आग्रह गरेका छन् ।























