दुधजन्य उत्पादनमा मिसावट छैन डेरी – एशोसिएसन


बुटवल, असार १९ गते । उद्योगमैत्री नीति, कर छुट, सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न र डेरी उद्योगलाई उत्पादनमूलक उद्योगका रूपमा मान्यता दिन नेपाल डेरी एशोसिएसनले सरकारसंग माग गरेको छ ।

विद्युत् महसुलमा सहुलियत, दुग्धजन्य पदार्थमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने, परियोजनाका रूपमा वर्गीकरण गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, स्टकलाई धितो मानी कर्जा दिने तथा उद्योग दर्ता प्रक्रियालाई एकद्वार प्रणालीमार्फत सरल बनाउनुपर्ने डेरी व्यवसायीको माग छ ।
बुटवलमा बसेको एशोसिएसनको तेस्रो केन्द्रीय समितिको बैठकले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँच वर्षीय रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

बैठकपछि शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलन गरी एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले नेपाली डेरी उद्योगहरुको दीगो बनाउनका लागि सरकारले समयसापेक्ष नीति ल्याउनु पर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले डेरी उद्योगहरुलाई व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउने गरी योजना बनाईएको बताए ।
देशका सबै ठाउंमा सञ्चालित उद्योगी, किसान र सरोकारवालाका समस्या प्रत्यक्ष रूपमा बुझेर समाधानका लागि पहल गर्ने बताउंदै अध्यक्ष दाहालले भने हामी उपभोक्ता र राज्यप्रति जिम्मेवार छौ ।
सल्लाहकार हिरा बहादुर केसी र पूर्वअध्यक्ष मेघराज भण्डारीले प्रदेशमै पुगेर उद्योगी र किसानका समस्या सुन्ने निर्णयले डेरी क्षेत्रका वास्तविक समस्या पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महासचिव हेमचन्द्र खनालका अनुसार एसोसिएसनले हालसम्म सातै प्रदेशका २८ जिल्लामा संगठन विस्तार गरिसकेको छ। आगामी दिनमा थप जिल्लामा संगठन विस्तार गर्दै देशव्यापी बनाउने बताए ।
सचिव शिवहरि आचार्यले तेस्रो केन्द्रीय समिति बैठकबाट पारित निर्णय सार्वजनिक गर्दै आगामी केन्द्रीय समिति बैठक कर्णाली प्रदेशको रारामा आयोजना गर्ने निर्णय भएको जानकारी गराए ।
नेपाल डेरी एशोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानले डेरी व्यवसायमा सुधार भएको बताउंदै हामीले बिक्री वितरण गर्ने दुधजन्य कुनैपनि बस्तुमा मिसावट नभएको बताए । उनले ल्याव टेष्ट गरेर प्याकेजमा राखिएका कुनै पनि दुधजन्य वस्तुमा मिसावट नभएको गुणस्तर भएको बताउंदै अनावश्यक हल्लामा नलाग्न र भ्रमवस गरिएका कुराप्रति विश्वास नर्गन आग्रह गरेका छन्, प्रदेश अध्यक्ष न्यौपानेले ।
नेपाल डेरी एशोसिएसनका अनुसार नेपालमा ६ हजार डेरी व्यवसाय सञ्चालनमा रहेको र करिब ४ सय उद्योग लेबलिङ र प्याकेजिङसहित सञ्चालनमा रहेका छन् ।
डेरी क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार जनाले रोजगारी पाएका छन् भने करिब ६ लाख किसान परिवार यस व्यवसायमा निर्भर छन्।
नीजि क्षेत्रबाट डेरीमा ६० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको नेपाल डेरी एशोसिएसनले बताएको छ । नेपाल डेरी एशोसिएसन अनुसार अनुमानित दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने र जसबाट ग्रामीण अर्थतन्त्रमा दैनिक करिब १० करोड रुपैयाँ नगद प्रवाह हुन्छ ।























