पोखरी जस्तै रामापुर– लुम्बिनी सडक कहिले मर्मत होला ?

बुटवल, असार २० गते । रुपन्देहीको रामापुरदेखि लुम्बिनी जाने सडक पोखरी जस्तै बनेको छ । लुम्बिनी जस्तो विश्व सम्पदाको ठाउंमा जाने सडकमा परेका खाडलहरुको मर्मतसमेत गरिएको छैन ।

लुम्बिनी जानका लागि छोटो र भरपर्दो मानिने रामापुर लुम्बिनी सडक एक वर्षदेखि सामान्य मर्मतसमेत गरिएको छैन ।
करिब २० किलो मिटर लम्बाईको सडकमा परेका खाडलहरुका कारण आवतजावतमा समस्या भएको छ । सैनामैना नगरपालिका गैडहवा गाउंपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने यो सडक विशेष गरेर सैनामैना र गैडहवा क्षेत्रमा थुप्रै खाडलहरु परेका छन् ।

रामापुरदेखि लुम्बिनी जाने सडकको दुरावस्था हुंदा पनि खाडल नदेख्ने सम्बन्धित निकायको े आँखा कस्तो होला ? भनेर सडक यात्री लक्ष्मण पोखरेलले प्रश्न गरेका छन् ।

गैडहवाको मैनहिया क्षेत्रमा यो सडकको धेरै ठाउंमा खाडल परेका छन् । सडक डिभिजन कार्यालय, सैनामैना नगरपालिका, गैडहवा गाउंपालिका, लुम्बिनी सांस्कृति नगरपालिका, लुम्बिनी विकाष कोष कसैको पनि सडक मर्मत गर्ने विषयमा ध्यान नगएको स्थानीयको गुनासो छ ।

सडकमा पोखरी जस्तै बनेका खाडलहरुका कारण हिउंदमा धुलयाम्मे हुने र वर्षमा हिल्याम्मे हुंदा सडक यात्रा गर्दा समस्या भोग्नु परेको गोपाल तिवारीले बताए ।

सडकको विचविचमा परेका खाडलका कारण सवारकिा साधनहरु चलाउन समस्या हुने दुर्घटनाको जोखिम मोल्नु पर्ने बाध्यता छ ।