कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुटपिट प्रकरणः जाहेरी दर्तामा प्रहरीको आनाकानी, पीडित भन्छन्–मलाई थप अन्याय हुँदैछ


बुटवल । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणको घटनाले नयाँ मोड लिएको छ । आक्रमणमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले उल्टै आलटाल गरेको र आफूलाई न्याय पाउनबाट वञ्चित गराउन खोजिएको भन्दै पीडित पक्षले गम्भीर गुनासो गरेका छन् ।

पीडित अध्यक्ष शर्माका अनुसार, घटनापछि प्रहरीले अनुसन्धानमा सक्रियता देखाउनुको साटो जाहेरी दर्ता गर्न आलटाल गरेको छ । गएराति करिव साढे ११ बजेतिर मुद्धा शाखामा जाहेरी पत्र बुझाएको थिएँ, पीडित शर्माले दुःखेसो पोख्दै भने, ूमैले मुद्धा शाखाका इन्स्पेक्टर देबेन्द्र जोशीलाई जाहेरी बुझाएको थिएँ, उहाँले तपाईको मुद्धा भोलि बिहान ११ बजेभित्र दर्ता हुन्छ भन्नुभएको थियो, अहिलेसम्म भएन, कुनै जानकारी दिइँदैन । उनले जाहेरी दर्ता गराउने क्रममा प्रमाणका लागि फोटो खिच्न खोज्दा इन्स्पेक्टर जोशीले फोटो खिच्न मिल्दैन, सीसीटीभी छ, भन्दै रोकेको समेत बताए । म अहिलेसम्म (बुधवार) आज दिनभर आफू मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा धाइरहँदा पनि प्रहरीले कुनै सुनुवाइ नगरेको उनको आरोप छ ।
पीडित शर्मा भन्छन्, जिल्ला प्रहरी कार्यालयका एसपी साबले आफूहरु अनुसन्धानकै क्रममा रहेको बताउँदै ६ महिनासम्म म्याद हुन्छ भनेको यता प्रमुख जिल्ला अधिकारी सीडीओ साबले भने मिलापत्र गर्नुहोस् भनेर भन्नुहुन्छ । म मिलापत्र गर्दिन भन्दा पनि मलाई यताउता घुमाउने मात्रै काम भइरहेको छ, सीडीओ साबले एसपी साबलाई फोन गरी रितेशजीको मुद्धा के हो हेरिदिनु पर्यो भन्नुहुन्छ, आलटाल गरेर अलमलाउने काम गरिएको छ । मलाई थप अन्याय गरिँदैछ, अब न्यायका लागि कुन निकाय धाउनुपर्ने हो ? भन्दै प्रश्न गरे ।

आक्रमणमा संघीय सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर (नगरप्रमुख) रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको पीडित शर्माको दाबी छ । उनले आफूले लामो समयदेखि क्षेत्रमा मौलाएको बेथिति, अनियमितता र आपराधिक गतिविधिहरुका विरुद्ध सशक्त आवाज उठाउँदै आएकाले प्रतिशोध साँध्न सांसदकै आडमा नियोजित रुपमा आक्रमण गरिएको बताएका छन् ।























