मरेपनि बांचिरहेका मिनराज

ज्ञामुरान न्यौपाने

आमा बिनसरी राना र बुबा नरबहादुर रानाका पाँच सन्तानमध्ये पहिलो सन्तानको रूपमा वि.सं. २०३१ फागुन १४ गते का. मिनराज रानाको स्वर्गद्वारी नगरपालिका–२ धनवाङमा जन्म भएको थियो । उहाँको माध्यमिक तहको शिक्षा श्री बाल संस्कृत मावि धरमपानीमा भएको थियो।

उहाँ विद्यार्थीकालदेखि नै अन्याय नसहने, समाजिक काममा सरोकार राख्ने र विद्यार्थीहरूको हकहितको लागि आन्दोलनमा समाहित हुनुभएको थियो। अनेरास्ववियू (छैठौ), रक्तिम परिवार, युवक संघ, हुँदै उहाँ जिम्मेवार समाजिक कार्यकर्ता र पार्टी नेताको रूपमा अगाडि बढ्नुभएको थियो।

२०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा उहाँको सहभागिता रहेको थियो। २०६२–६३ मा सञ्चालित गणतन्त्र प्राप्तिको आन्दोलन र संघीयता विरोधी काठमाडौँ केन्द्रित आन्दोलनहरूमा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो। प्युठानलाई ५ नम्बर प्रदेशबाट ४ नम्बर प्रदेशमा लैजाने सरकारको निर्णय विरुद्धको आन्दोलन २०७२ मा पनि उहाँको ससक्त सहभागिता रहेको थियो।

पार्टी निकट रहेका विभिन्न जनवर्गीय संगठनहरूमा उहाँले सक्रियतापूर्वक काम गर्नु भएको थियो। अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समिति सल्लाहकार र प्युठान जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो।

शिक्षाविना समाज परिवर्तन हुन सक्दैन भन्ने उहाँको दृढ विश्वास थियो। उहाँले शैक्षिक वातावरण सिर्जना गर्न आफ्नो जीवनको उर्वर समय समर्पण गर्नुभएको पाइन्छ। आफु जन्मेको गाउँ धनवाङमा रहेको पृथ्वी नेरा प्रा.वि. को २०५८ मा विद्यालय व्यवस्थापन समितिमा उहाँ अध्यक्ष रहँदा विद्यालयको राम्रो प्रगति भएको स्थानीयहरू बताउँछ्न्।

आफूले अध्ययन गरेको बाल संस्कृत मावि धरमपानीको २०६४ मा वि.व्य.स.अध्यक्ष बनेर जनतामा शिक्षाको ज्योति फैलाउन उहाँले सक्रिय भुमिका खेल्नु भएको थियो। उहाँ अध्यक्ष भइरहेको समयमा त्यहाँको ठुलो जनसङ्ख्यालाई अध्ययन गर्नको लागि धरपानी अपायक रहेको, जनतालाई अनुकूल स्थानमा विद्यालय हुनुपर्छ भनेर उहाँले लामो सङ्घर्ष गर्नुभएको थियो। यस विषयमा पुनरावेदन अदालत तुलसीपुर हुँदै सर्वोच्च अदालतसम्म उहाँहरुले मुद्दाको सामना समेत गर्नुपर्यो।

लामो संघर्षपश्चात् जनचाहना अनुरूप २०६५ मा अडेबासमा नयाँ विद्यालय बाल मा.वि. स्थापना भयो। बालमावि स्थापना गर्न मिनराज राना, वीरबहादुर पुन, इमान सिंह खड्का लगायतका व्यक्तिहरुले लामो अवधि खटेर सम्भव भएको थियो। विद्यालय स्थापना भएपछि मिनराज राना सो विद्यालयको अध्यक्ष हुनुभयो। उहाँले विद्यालय भवन लगायतका पूर्वाधारहरूको विकास, विषय शिक्षकहरुको व्यवस्था गर्न दत्तचित्त भएर लामो समय काम गर्नुभयो।

का. मिनराज रानाको अठार वर्षको उमेरमा डिमा रानासँग प्रेम विवाह भएको थियो। उहाँहरुका कुल बहादुर राना, मनोज राना र दिपक राना तीन छोराहरू रहनुभएको छ । उहाँ परिवारको जेठो सन्तान भएकोले आफ्ना चार भाइबहिनी र बुवाआमाको ख्याल गर्ने जिम्मेवारी पनि उहाँको थाप्लोमै थियो।

बुवाको स्वास्थ्य अवस्था राम्रो थिएन । पटकपटक उपचार गरिरहनु पथ्र्यो। घरको आर्थिक अवस्था कमजोर भएको कारण उहाँ २०५६ तिर रोजगारीको लागि भारतमा गएर दुई वर्ष नोकरी पनि गर्नुभएको थियो। त्यहाँ रहँदा नेपाली एकता समाजमा आवद्ध हुनु भएको थियो। प्रवासमा बसेर समाजको काम गर्न अनुकूल नभएपछि उहाँ फेरि स्वदेशमै केही गरौं भन्ने भावनाले गाउँ फर्केर पार्टी र सामाजिक काममा सक्रिय हुनभयो।

उहाँमा जनताप्रतिको सेवाभाव उच्च प्रकारको रहेको थियो। उहाँ सरल जीवनशैली, अनुशासित र वामपन्थी आन्दोलनप्रति निष्ठावान् सामाजिक कार्यकर्ताका रूपमा चिनिनुहुन्थ्यो । स्थानीय निर्वाचन नभएको समयमा उहाँले सर्वदलीय समितिमा रहेर जनताका आवश्यकताका विषयमा लामो अवधि काम गर्नुभएको थियो। यसले उहाँलाई जनताको बिचमा स्थापित गरेको थियो।

पर्यटकीय केन्द्र स्वर्गद्वारीलाई मद्दत पुग्नेगरी धनवाङलाई ग्रामीण होमस्टेको रूपमा विकास गर्न उहाँको विशेष भूमिका रहेको थियो। सुन्तलाको पकेट क्षेत्र निर्माण गर्न उहाँ उत्तिकै सक्रियतापूर्वक लाग्नुभयो। जसले गर्दा स्थानीय किसानहरुमा उत्साह सिर्जना गर्यो। उहाँ स्वर्गद्वारी नगरपालिका–२ को २०७४ को निर्बाचित वडाध्यक्ष बनेपछि जनताको पक्षमा महत्त्वपूर्ण कामहरू गर्नुभएको थियो।

२०७९ मा उहाँ स्वर्गद्वारी नगरपालिकाको उपप्रमुख निर्वाचित भएपछि शिक्षा, खानेपानी, सडक यातायात, कृषि, ग्रामीण पर्यटन जस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण सामाजिक योगदान पु¥याउनुभएको थियो । कठिन भूगोलको बीचमा भिङग्री धनबाङ सडक निर्माणमा उहाँ अहोरात्र खट्नुभएको थियो।

का. मिनराज राना मगर स्वर्गद्वारी नगरपालिकाको विकास निर्माणको काममा सक्रियता पूर्वक खटिरहनु भएको समयमा नगरपालिकाद्वारा सञ्चालित विभिन्न योजनाहरूको अनुगमन गरेर फर्कने क्रममा २०८३ असार १३ गते स्वर्गद्वारी–२ धनवाङको बाङ्गेसल्ला भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा उहाँको घटना स्थलमै दुःखद निधन हुन पुग्यो।

का. मिनराज राना मगर नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्लासमितीका सचिवालय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानका सल्लाहकार समेत रहनुभएको थियो।

मृत्युपश्चात् स्थानीय धनवाङ खोलामा भएको उहाँको अन्त्यस्टीमा पार्टी नेता, जनप्रतिनिधि र ठूलो सङ्ख्यामा स्थानीय जनताको उपस्थिति रहेको थियो। अन्त्येष्टिको परिदृश्यले उहाँप्रति जनतामा अपार श्रद्धाभाव रहेको जो जोकोहीलाई महसुस हुन्थ्यो। उहाँ बितेको १३ औं स्मृति दिवसमा २०८३ असार २५ गते उहाँको निवासमा आयोजित श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रीय नेताहरू बोमबहादुर खत्री, कृष्ण वहादुर खड्का, सुरेश कुमार थापा, तिलक बहादुर जिसी लगायतका वक्ताहरूले दिवंगत मिनराज रानाको विषयमा प्रकाश पार्नुभएको थियो।

श्रद्धाञ्जली सभामा दाङ, प्युठान र रोल्पाका नेता तथा जनप्रतिनिधिहरूको उल्लेखनिय सहभागिता रहेको थियो। उहाँका सहकर्मी तथा स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीले शोक शोभामा “ उहाँ आर्थिक व्यवहारमा अत्यन्त अनुशासित, कर्मचारीप्रति असाध्यै राम्रो व्यवहार गर्ने, नगरपालिका सञ्चालनमा आपसी परामर्श र सहमति कायम गरेर नगर विकासमा दत्तचित्त भएर लाग्ने गर्नुहुन्थ्यो“ भनी टिप्पणी गर्नुभएको थियो। “कार्यसम्पादनको क्रमममा दिवंगत हुनुभएका नगर उपप्रमुखको स्मृतिमा नगरपालिका अगाडि सालिक निर्माण गर्ने“ उहाँले जानकारी गराउनु भएको थियो।

उहाँका भाइहरू भीम राना र योगेश रानामा पनि राजनीतिक समर्पण र सामाजिक भावना उत्तिकै विद्यमान रहेको थियो। उहाँका भाइ भिम रानाको २०७४ मा र अर्का भाइ योगेश रानाको २०७७ मा असामयिक निधन भएको थियो। उहाँको आमा बिनसरी राना २०६८ र बुवा नरबहादुर रानाको २०७२ मा निधन भइसकेको छ। अकाल मृत्युले उहाँको घर आक्रान्त बनेको छ।

परिवर्तनप्रति दृढ विश्वास राख्ने, समाजवादी व्यवस्थाप्रति अठोटको भावना र विचार गरेर थोरै बोल्ने, अरुप्रति पनि समान व्यवहार गर्ने, सवै संग संवाद र सहमति कायम गर्ने, विकासप्रति सधैँ जागरुक रहने उहाँका विशेषताहरू थिए।

कामरेड मिनराज रानाको असामयिक निधनले प्युठानको वामपन्थी आन्दोलन र सामाजिक विकासमा अपुरणीय क्षति पुगेको छ । इमानदार सामाजिक कार्यकर्ता र जिम्मेवार नेताको मृत्युले पार्टी पङ्क्ति र सिङ्गो जिल्लावासीलाई स्तब्ध बनाएको महसुस भइरहेको छ। उहाँ मरेर पनि सबैको बिचमा अमर रहनु हुने छ ।

लेखक राष्टिय जनमोर्चा प्यूठानका अध्यक्ष ।