विश्वकपको अन्तिम क्वार्टरफाइनल अर्जेन्टिना र स्वीट्जरल्याण्ड मैदानमा

काठमाडौँ । विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा अहिले अर्जेन्टिना र स्वीट्जरल्याण्ड भिडिरहेका छन् । अमेरिकाको एरोहेड स्टेडियममा भइरहेको खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले १-० ले अग्रता लिएको छ ।

खेलको १० मिनेटमै गोल गर्दै अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको हो । लियोनल मेस्सीको कर्नर पासमा एलेक्सिस म्याक एलिस्टरले हेड गोल गरेका हुन् । उनको यो विश्वकपमा पहिलो गोल हो ।

साविक विजेता अर्जेन्टिना लगातार दोस्रो उपाधि जितेर कीर्तिमान राख्न चाहन्छ । लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले शानदार प्रदर्शन गर्दै आइरहेको छ । मेस्सीले यो विश्वकपमा ८ गोल गरिसकेका छन् । फ्रान्सका केलियन एम्बाप्पेको पनि ८ गोल छ ।

अर्जेन्टिना चौथो पटक विश्वकप जित्ने अभियानमा रहेको छ भने स्वीट्जरल्याण्ड चौथो पटक क्वार्टरफाइनल खेलिरहेको छ । विजेताले सेमिफाइनलमा इङ्गल्याण्डसँग खेल्नेछ । बिहान भएको क्वार्टरफाइनलमा इङ्गल्याण्डले नर्वेलाई २-१ ले हराएको थियो । पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् ।