बुटवल जेसीजको नवनिर्मित सभाहल समुद्घाटन

जेसीज सप्ताह-२०२६ शुभारम्भ

बुटवल । बुटवल जेसीजको ऐतिहासिक गरिमामा थप एक इँटा थप्दै नवनिर्मित सभाहलको समुद्घाटन तथा जेसीज सप्ताह २०२६ को एक विशेष समारोहका बीच भव्य शुभारम्भ गरिएको छ । शनिवार बुटवल जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी यदुमणि पोख्रेलको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा उक्त संयुक्त कार्यक्रम सम्पन्न भएको हो ।

समारोहको उद्घाटन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवल जेसीजले युवाहरुलाई नेतृत्व तहमा पुर्‍याउन र समाजलाई सकारात्मक दिशा दिन खेलेको भूमिकाको उच्च प्रशंसा गरे । नवनिर्मित सभाहलले बुटवलको सामाजिक र बौद्धिक गतिविधिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै नगरप्रमुख पाण्डेयले भने, बुटवल जेसीज केवल एउटा संस्था मात्र होइन, यो बुटवलको सामाजिक रुपान्तरणको संवाहक र नेतृत्व उत्पादन गर्ने नर्सरी हो । नगरको विकास र युवा सशक्तिकरणका हरेक अभियानमा उपमहानगरपालिका जेसीजसँग सहकार्य गर्न सधैं तयार छ ।

कार्यक्रममा बोल्दै बुटवल जेसीजका पूर्व अध्यक्ष तथा सिनेटरहरुले संस्थाको गौरवमय इतिहास र यस नयाँ भौतिक पूर्वाधारको महत्त्वमाथि प्रकाश पारेका थिए । सिनेटरहरुका तर्फबाट मन्तव्य राख्दै बुटवल जेसीजको पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय अध्यक्ष अनुपमान सैंजुले भने, आफ्नै सुविधासम्पन्न सभाहल हुनु बुटवल जेसीजका लागि ठूलो उपलब्धि र गौरवको विषय हो । यो भवनले आगामी पुस्ताका जेसीहरुलाई थप ऊर्जाका साथ सामाजिक कार्यमा लाग्न प्रेरित गर्नेछ र जेसीज सप्ताहका विभिन्न रचनात्मक कार्यक्रमहरुले युवाहरुको क्षमता उजागर गर्ने विश्वास लिएका छौँ ।

यसैगरी, कार्यक्रममा सहभागी साधारण जेसी सदस्यहरुले पनि आफ्नो उत्साह व्यक्त गरे । मुल संयोजक जेसी विकास पन्थीले भने आफ्नै नयाँ सभाहलमा जेसीज सप्ताहको सुरुवात हुनु हाम्रा लागि ऐतिहासिक क्षण हो । व्यक्तित्व र नेतृत्व विकासका लागि जेसीज सप्ताह एक महाकुम्भ हो, जसमा यस वर्ष हामी थप नयाँ दृष्टिकोण र ऊर्जाका साथ रचनात्मक एवं सामाजिक कार्यहरुमा केन्द्रित हुनेछौँ ।

सभाका अध्यक्ष तथा बुटवल जेसीज २०२६ का अध्यक्ष जेसी यदुमणि पोख्रेलले सबैको सामूहिक प्रयास, पूर्व अध्यक्षहरुको मार्गदर्शन र कार्यसमितिको अहोरात्र खटाइका कारण सभाहल निर्माण सम्पन्न भई उद्घाटन गर्न सफल भएकोमा खुसी व्यक्त गरे । अध्यक्ष पोख्रेल भन्छन्, बुटवल जेसीजको यो नवनिर्मित सभाहल सम्पूर्ण युवाहरुको साझा चौतारी बन्नेछ । आजबाट सुरु भएको जेसीज सप्ताह २०२६ अन्तर्गत हामी साताभरी समाजका विभिन्न क्षेत्रलाई समेट्ने गरी प्रभावकारी बौद्धिक, सामाजिक र रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछौँ ।

कार्यक्रममा बुटवल जेसीजका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उद्घाटन सत्रको समापनसँगै जेसीज सप्ताह २०२६ अन्तर्गतका विभिन्न विधाका कार्यक्रमहरु पनि औपचारिक रुपमा सुरु भएका छन् ।