कमरेड पुष्पलालसंग अन्तिम भेट

एकराज पाण्डे
गोरखपुर नजिकै गौतम बुद्धको देहावसान भएको ठाउँ कुशिनगरबाट ५÷६ किलोमिटर पर कसियामा भएको नेकपाको पाँचौं राष्ट्रिय सम्मेलन सकिएपछि तेस्रो दिन बिहान म र मेरा साथी गणेशजी तानसेन फर्कन हतारिएर माइल्दाइ(पुष्पलाल)सँग विदा हुन गयौं ।

माइल दाइ प्रायः कुनै पनि मिटिङ सकिएपछि त्यहाँ आएका साथीहरूसँग छुट्टाछुट्टै भेट गरेर साथीहरूले कार्य क्षेत्रमा भोग्नु परेका समस्याहरू सुन्ने र ती समस्याहरू समाधानको बाटो बारे छलफल गर्ने गर्नुहुन्थ्यो । गणेशजी भरखर पार्टी सम्पर्कमा आएकाले सम्मेलनमा भाग लिन नसकेता पनि क. पुष्पलालसँग भेट गर्ने तीब्र लालशा देखाउनु भएकाले मैले उहाँलाईसँगै लगेको थिएँ । उहाँ फर्कन साह्रै आतिएकाले हामीले हतार गरेका थियौं ।

माइल दाइले अहिले तुरुन्तै तपाईं नजानुहोस्, तपाईसँग विशेष कुराकानी गर्नुछ भन्दै रोकेर मलाईसँगै लिएर बाहिर निस्कनु भयो । अनि उहाँले भगवान (मैले यहाँ कुनै ईश्वरको रुपमा नभएर एकदम राम्रो काम गर्ने व्यक्तिको रुपमा यो शब्द प्रयोग गरेको छु) गौतम बुद्ध निर्वाण भएको ठाउँ तपाईंले देख्नु भएको छैन, त्यहाँ बसेर कुरा गरौं भन्दै सानो अटोमा चडाई भगवान बुद्धले निर्वाण प्राप्त गरेको मन्दिरमा लग्नु भयो । त्यसपछि उहाँले भन्नुभयो– गौतम बुद्धले निर्वाण प्राप्त गरेपछि जलाएको ठाउँ जहाँ राजा अशोकले ठूलो स्तम्भ बनाएका छन् रामाभर भन्ने ठाउँ अलि पर पर्छ, त्यहाँ अहिले नजाऊँ । तपाईपछि कुनै बेला आएर संग्राहलय, बुद्धको अस्तु बाँडेको ठाउँ आदि सबै बिस्तार पूर्वक हेर्नुहोला भन्नुभयो ।

भगवान गौतम बुद्धको परिनिर्वाण

वर्तमान नेपालभित्र पर्ने तत्कालीन शाक्य गणराज्यका महान योद्धा एक धनी मानिस शुद्धोधनको सुपुत्रको रूपमा इसा पूर्व ५६३ मा नेपालको लुम्बिनीको शालवनमा गौतम बुद्धको जन्म भएको थियो । शाक्य गणराज्यको राजधानी नेपालको कपिलवस्तुमा रहेको थियो । बौद्धहरूका निम्ति बुद्धको जन्म स्थान नेपालको लुम्बिनी, ज्ञान प्राप्त गरेको ठाउँ हाल भारतमा पर्ने बोध गया, प्रथम ज्ञान प्रचार गरेको ठाउँ सारनाथ र महानिर्वाण प्राप्त गरेको यो ठाउँ तत्कालीन मल्लहरूको राज्य कुशीनगर ठूला प्रमुख तीर्थहरू मानिन्छन् ।

भगवान बुद्ध धर्म प्रचार गर्ने दौरानमा आफ्नो ८० वर्षको आयुमा पावा भन्ने ठाउँमा ठूलो सङ्ख्यामा भिक्षुहरू साथ लिएर आफूलाई चुन्दकुमार पुत्तद्वारा दान गरिएको आम्रवनमा आएर बस्नु भएको थियो । त्यो कुरा थाहा पाएपछि उहाँका अनुयायी चुन्दले अर्को दिनको भोजन गर्न भिक्षुहरूका साथ आफ्नो घरमा आमन्त्रण गरे । चुन्द कुमार पुत्तले पावाको एक धनी कुलमा जन्म लिएका थिए । उनी त्यतिबेला ठूलो वैभवशाली व्यक्ति थिए । सिद्धार्थ गौतम बुद्ध अर्को दिन चुन्द कहाँ भोजन गर्न भिक्षुहरूकोे ठूलो संख्या लिएर जानु भयो । त्यस दिनको भोजनले उहाँको पेट दुख्न थाल्यो र उहाँले आप्mनो मृत्यु छिट्टै हुने ठानेर त्यहाँबाट मल्लहरूको राज्य कुशीनगर जाने निश्चय व्यक्त गर्नु भयो । आफ्ना अनुयायी आफ्नो काकाका छोरा आनन्दलाई यो कुरा बताए पछि उहाँ त्यतै जान हिँड्नु भयो । ठूलो सकस र पीडाका साथ नदीहरूको पानी मात्र पिएर हिरण्यावती नदीको किनारमा रहेको कुशीनगर पुग्नु भयो । त्यहाँको शाल वनमा पुगे पछि आफू ज्यादै अशक्त भएकाले दुई शालका वृक्षमुनि छाया बनाएर आफूलाई आराम गर्ने ठाउँ बनाइ दिन भन्नु भयो । त्यसै स्थानमा उत्तर पट्टि शिर बनाएर पूर्व फर्केर लम्पसार परेर सुतेको अवस्थामा उहाँको इ.पूर्व ४८३ मा मृत्यु भएको थियो ।

ज्ञान प्राप्त गरेको ४५ वर्षसम्म अनवरत रूपमा पैदल हिँडेर बुद्धले भारत वर्षका विभिन्न ठाउँमा आफ्नो धर्म प्रचार गर्नुभयो । उहाँले कर्मकाण्ड र मूर्ति पूजाबाट केही फल पाइँदैन, मानिसले परलोकको निम्ति होइन यही लोक सुधार्न मानव मात्रको हितमा निरन्तर लाग्न पर्छ भन्नु भयो । कर्मको बौद्ध सिद्धान्त –पृ. ३३७–३४४) ले मनुष्यको अनुवांशिक सम्बन्ध होइन कि उसको परिवेश महत्वपूर्ण हुन्छ, कुनै पनि मनुष्य आफ्नो श्रम र संयक प्रयासहरूको बलमा नै आफ्नो वर्तमान जीवनलाई बदल्न सक्दछ भन्दछ । अंगुत्तर निकाय (द ध्रोज संपादित ११०) अरु सबै धर्म खास गरी हिन्दू धर्म मानिसले आफ्नो जीवनको सुधार र फल प्राप्ति आफ्नो वर्तमान काम र क्रियाकलापबाट होइन सबै आफ्नो भाग्यको फल भोग्ने हो । अर्थात मानिसका सबै क्रियाकलाप इह लोकबाट होइन परलोकबाट निर्धारण हुन्छ, भन्ने मान्यता राख्दछ । बुद्धले जीवनका हरेक पहलुमा आफ्नो दर्शन र व्यवहारको व्याख्या गर्नु भएको छ । बुद्धको मृत्युको सवा दुई सय वर्षपछि सम्राट अशोकले बौद्ध धर्म ग्रहण गरे । उनका गुरु मोग्गलि पुत्र तिस्सको (मोदगलि पुत्र तिब्य) मार्ग दर्शनमा संसारका विभिन्न ठाउँमा बौद्ध धर्मको प्रचार र बुद्धसँग सम्बन्धित सबै ठाउँमा शिला लेख र स्तुप निर्माण गराए ।

कनिष्कको समय अर्थात बुद्ध जन्मेको चार शताब्दि पछि बुुद्ध धर्ममा देखिएका असंख्य संप्रदायहरू मध्ये महायानीहरूले बुद्धको मूर्ति र मन्दिरहरू बनाए र पूजा आजा गर्न थाले । भगवान् बुद्धले जनहितमा आफ्नो ज्ञान, धर्म र दर्शनको प्रचार गरे । उनले आप्mनो धर्ममा आफ्नो छुट्टै पहिचान छैन भने र मूर्ति पूजाको विरोध गरे । कालान्तरमा आएर उनलाई अलौकिक शक्तिको रूपमा व्याख्या गरी मूर्ति र मन्दिरहरू बनाएर पूजा गर्न थालियो । उनीहरूले नै गौतम बुद्धको प्रव्रज्या उनन्तिस वर्षको उमेरमा उद्यानमा विहार गर्दा बृद्ध, रोगी र मृत्यु भएको मानिसको लास पहिलो पटक देखे । अनि उनले सोधें यो के हो र यसको कारण के हो ? पछि सारथीले भने जन्मेपछि मानिस बूढो हुन्छ, बिरामी हुन्छ र मर्छ । त्यसपछि उनमा वैराग्य आयो र सन्यास ग्रहण गरे । आदि इत्यादि अतिरञ्जित व्याख्या गरियो । भगवान् बुद्धलाई अलौकिक र ईश्वरको अवतार सावित गर्ने प्रयास भयो । यो व्याख्या के कुरा पत्याउन गाह्रो हुन्छ भने २९ वर्षको पाको उमेरसम्म बुद्धले बृद्ध, रोगी र मृत्यु भएको मानिसको लास नदेख्ने भन्ने हुनै सक्दैन ।

बुद्धले आफ्नो उमेरको उनन्तीस वर्षसम्म त्यतिबेलाका ठूला विद्वान्हरूबाट दर्शन, धर्मशास्त्र र सैन्य तालिम लिएका थिए । सङ्घबाट २० वर्षको आयुमा शाक्य सङ्घमा दीक्षित भएर सदस्यता प्राप्त गरेका थिए । यो सङ्घको सदस्य भएपछि हरेक व्यक्तिले राजकाज बारे सङ्घमा आफ्नो कुरा राख्न पाउथ्यो । उनले कोलीय कन्या यशोधरासँग विवाह गरे । केही समयपछि राहुल नामका छोरा पनि जन्मिए । शाक्य गणराज्य र कोलीय गणराज्य बीच रोहिणी नदीको पानीका निम्ति झगडा भयो । त्यो कुरा सङ्घमा आएपछि युद्ध गरेर पानी बढी लिने कुरामा सेनापतिले प्रस्ताव राख्दा उनी आफ्ना मावली ससुराली बीच लडाई गरेर विवादको समाधान खोज्न हुन्न भन्ने पक्षमा भए । “राजघरानाको उत्तराधिकारीले नै युद्धको विरोध गरेपछि अप्ठेरो स्थिति उत्पन्न भयो । सिद्धार्थ गौतम शान्तिपूर्ण वार्ताद्वारा समस्याको समाधान गर्नुपर्छ भन्ने आफ्ना सोंचमा टसमस भएनन् । शाक्य गणराज्यको कानुनअनुसार सङ्घको निर्णय नमान्ने व्यक्तिलाई मृत्यु दण्ड र उनको सारा परिवारको सर्वस्व हरण हुने नियम थियो । नियमअनुसार उनलाई यसरी भागीदार हुनुपर्ने भयो । आफ्नो कारण आप्mना सम्पूर्ण बन्धुबान्धवहरूले सर्वस्वहरण भई दुर्दशा भोग्नुभन्दा आफूले सन्यास ग्रहण गरी देश छाडेर तपस्या गर्न जाने निर्णय गरे । यो कुरामा सङ्घले मन्जुरी दियो ।” बुद्धको महानिर्वाण भारतको कुशीनगरमा भएको हो । त्यहाँ अहिले पनि एउटा विहारमा उनको पार्थिव शरीरको प्रतिकृति छ । अंग्रेजीकालमा उत्खनन हुँदा १८७६ मा कारलाईलको नेतृत्वको टोलीले यो विहार खनेर त्यो प्रतिकृति बाहिर निकालेको थियो । कार्ललाईलले बताएअनुसार अहिलेको विहार हरिवल नामक धनी व्यक्तिले कुमार गुप्तको (इ.४१३–४५५) राज्य कालमा बनाएका थिए । त्यै खण्डमा अहिले रहेको मन्दिर इ. १९०७ मा कलकत्ताका केही वर्मीज बौद्धहरूले १०,००० जम्मा गरेर जीर्णोद्वार गरेका थिए । त्यस ऐतिहासिक मन्दिरभित्र लगेर का. पुष्पलालले गौतम बुद्धको उत्तर सिरानी गरेर पूर्वतिर फर्की लम्पसार गरेर सुतेको मूर्ति देखाएर बुद्ध परिनिर्वाणको साह्रै नै सङ्क्षिप्त कथा सुनाउनुभयो । हाम्रो त्यतिबेला कुरा गर्ने मुख्य विषय बुद्ध र बुद्ध दर्शन नभएकाले गौतम बुद्धबारे धेरै कुरा भएन । क. पुष्पलालको देहावसानपछि उहाँसँगको कुराकानीलाई ताजा बनाउन हामी बसेको त्यो स्थान खोज्दै गएँ । अहिले पनि समयसमयमा कुशीनगरको उक्त स्थानमा साथीहरू तथा परिवारलाई लिएर जाने गर्दछु । यस दौरानमा बौद्ध साहित्यप्रति मेरो आकर्षण बढेको छ ।

त्यहाँ मन्दिरको प्राङ्गणमा बस्दा माइल दाइ अलिक बढी गम्भीर र भावुक देखिनु भएको थियो । उहाँले मलाई भन्नुभयो– डाक्टरहरूले मेरो स्वास्थ्य धेरै नै बिग्रिएकाले अब धेरै दिन बाँच्न गाह्रो छ भनेका छन् । त्यसैले मैले आफ्नो बाँकी जीवनका निम्ति सङ्क्षिप्त रूपमा गर्ने कामको योजना बनाएको छु । मैले नेपालको इतिहासको सर्वेक्षणका लागि नोटहरू पूरा गरेको छु । त्यसमध्ये एउटा अध्याय नेपालमा मातृ सत्तात्मक समाज हो । त्यो प्रकाशित भैसकेको छ, अरू लेख्ने हो । यदि स्वास्थ्यले साथ दियो भने यो सकेपछि नेपालको इतिहास भौतिकवादी दृष्टिकोणले लेख्ने हो । नेपालको जन्मपछि विभिन्न शासन कालको जनपक्षीय दृष्टिकोणले यसमा व्याख्या आउँदछ । अहिले जेजति इतिहासको व्याख्या र वर्णन भएको छ त्यो विदेशीहरूको दृष्टिकोणबाट राजा महाराजाहरूको कथा लेख्ने काम भएको छ ।

नेपाली जनताले जीउनका निम्ति अनगिन्ती सङ्घर्ष र प्रगतिहरू गरेका छन् र त्यसबाट नेपाली मौलिक संस्कृतिको पनि विकास भएको छ । ती सबको विस्तारपूर्वक लेख्न जरुरी छ । सहानासँग विवाहपछि खासै घुमिएको पनि छैन । यसबीच सहानालाई लिएर आसाम गुहाटी आदि ठाउँमा नेपाल भारत जनमैत्री सङ्घका साथीहरूलाई भेट गरेर नेपालमा हुने जनवादी सङ्घर्षमा उनीहरूसँग एक पटक छलफल गर्नेछु । त्यसका अतिरिक्त सीमावर्ती क्षेत्रहरूमा साथीहरूलाई बोलाएर मिटिङ र छलफलहरू गर्ने योजना बनाएको छु । माहिलादाइले नरोकिइकन धाराबाहिक रूपमा यी कुराहरू भन्दै जाँदा म उहाँलाई ट्वाल्ल परेर हेरिरहेको थिएँ । नसोचेको र उहाँको देहावसानको कल्पनासम्म नगरेको मेरा निम्ति यी कुराहरू एकदमै मुटुमा तिर हानेझैँ लाग्ने अनौठो अनुभूति थिए । आप्mनो कुरा गरिसकेपछि उहाँले मलाई भन्नुभयो–पछि भेट होला नहोला आफ्नो मनमा लागेका सबै कुरा गर्नुहोस् । एक किसिमको भय र आवेगजन्य स्थितिमा मेरो पहिलो प्रश्न उहाँलाई थियो– तपाई पछि हाम्रो पार्टीको नेता को हुन्छ ? मैले एक दुईजना साथीहरूको नाम लिएँ । उहाँले त्यसको उत्तरमा भन्नुभयो–कम्युनिष्ट पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयतामा आधारित हुन्छ । अझ निर्णय लिने बेलामा त पूर्ण प्रजातान्त्रिक तरिकाले छलफल हुनु पर्दछ । त्यसैले मेरो मृत्युपछि बस्ने पार्टी नेतृत्वको मिटिङले मात्र त्यो व्यक्ति तोक्न सक्छ । त्यतिबेला उहाँले एउटा अंग्रेजी शब्द प्रयोग गर्नु भएको थियो । त्यो अहिले मलाई सम्झना छैन । यो अन्तरिम नेतृत्व हुनेछ ।

नेपाली क्रान्तिको नेतृत्व गर्ने व्यक्ति अब नयाँ युवा पुस्ताबाट निस्कने छ । हामीले नीतिलाई प्रधान मानेर सङ्घर्षमा गयौं भने त्यो सङ्घर्षले नै नेतृत्व उत्पन्न गर्दछ । म यो सैद्धान्तिक उत्तरबाट सन्तुष्ट भइनँ र मैले मेरो स्वभावअनुसार तत्काललाई नेता बनाउने कम से कम एउटा व्यक्तिको नाम भन्न जोड गरें । उहाँले भन्नुभयो– तपाईंले चिनमा भएका परिवर्तनहरूलाई हेर्नु भएको छैन ? चिनको कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले लिन पियाओलाई क. माओत्सेतुङको उत्तराधिकारी घोषणा गर्ने जुन गल्ती ग¥यो त्यसले चिनको राजनीतिमा कस्तो उथलपुथल ल्यायो ।

लिन पियाओको कुरा सकिँदा नसकिँदै त्यतिबेला चीनमा देङ्रयाओ पिङ्को उदय भएको थियो । यस घटनाले विश्वभरका कम्युनिस्टहरूमा चिनमा समाजवादको भविष्यबारे पक्ष र विपक्षमा छलफल चलेको थियो । देङ्ले चीनमा चिनियाँ मोडेलको समाजवाद र समाजवादी बजार अर्थ व्यवस्थाको नीति ल्याएर चिनलाई आधुनिकीकरण गर्ने नीति उद्घोष गरेका थिए । त्यसले गर्दा चिनमा समाजवाद समाप्त हुने त होइन भनेर मैले जिज्ञासा राखें ।

उहाँले भन्नुभयो– चीनमा समाजवादी क्रान्तिको प्रभाव अत्यन्त गहिरो छ । त्यसले गर्दा देङ्ले समाजवाद समाप्त पार्छन् भन्ने मलाई लाग्दैन । लामो समय समाजवादका निम्ति लडेका र पार्टीको उच्च नेतृत्वमा सांस्कृतिक क्रान्तिको उथल पुथलपछि स्थापित भएका व्यक्ति भएकाले उनले चिनमा समाजवादको विकल्प खोज्लान् भन्न गाह्रो छ । हामी चीन जाँदा देङ्स्याओ पिङ्सँग पनि भेट गरेका थियौं । उनको त्यति बेला कुरा सुन्दा उनी एकदमै राष्ट्रवादी व्यक्ति भएको लाग्दथ्यो भन्ने कुरा वहाँले गर्नुभयो ।

नोटः स्टालिनको देहावसानपछि सोभियत कम्युनिस्ट पार्टीको नेतृत्व निकिता खु्रस्चोवले गर्न थालेपछि विश्व कम्युनिस्ट आन्दोलनमा धेरै नै मतभेद देखा परे । ती मतभेद समाधान गर्ने उद्देश्यले १९५७ मा समाजवादी देशहरू र १९६० मा विश्वका समाजवादी देश र कम्युनिस्ट पार्टीहरूका सम्मेलन रुसमा सम्पन्न भएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीले समाजवादमा शान्तिपूर्ण सङ्क्रमणको नीतिको विरोध गर्दै त्यस समय उठेका विवादहरू समाधान गर्न २५ सूत्रीय कार्यक्रम ल्यायो । यसको समर्थन का. पुष्पलाल र पार्टीको तेस्रो ऐतिहासिक सम्मेलनले गरेको थियो । यो विवादका बीच समाजवादी क्रान्ति सम्पन्न भए तापनि पुँजीवादको पुनःस्थापना हुन सक्छ भन्दै त्यसलाई रोक्न चिनमा सर्वहारा सांस्कृतिक क्रान्ति सुरु भयो । यो क्रान्तिको सुरुमा क. पुष्पलालले समाजवादको अन्तिम विजयका निम्ति सर्वहारा सांस्कृतिक क्रान्तिको आवश्यकताको समर्थन गर्नु भए तापनि पछि उहाँले त्यहाँ भएका उथलपुथलहरूमा आफू रिजर्व बसेको बताउनु भएको थियो । यो क्रान्ति सुरु भएपछि सम्पन्न नवौं राष्ट्रिय काँग्रेसले देशका राष्ट्रपति लिओ सावचीलाई चिनमा वुर्जुवा शासनको पुनःस्थापना गर्न उद्यत नेता भन्दै पदबाट बर्खास्त ग¥यो र देङ स्याओपीङलाई पनि हटायो । यो महाधिवेशनले समाजवाद स्थापना भएपछि पनि क्रान्तिलाई निरन्तर अगाडि बढाउने माओको नीति पास ग¥यो । अनि माओत्सेतुङ्को उत्तराधिकारीको रूपमा लिन पियाओलाई चुन्यो । यो महाधिवेशन सांस्कृतिक क्रान्तिको उच्चतम अवस्थामा भएको थियो । त्यस अवस्थामा सानो समूहले देशको राजनीति हाँक्दा षडयन्त्र गर्नेहरूले ठाउँ पाए । लिन पियाओले माओको हत्या गरी सत्ता हत्याउन षड्यन्त्र रचे । यो षड्यन्त्र माओत्सेतुङ्को जानकारीमा आउना साथ षड्यन्त्र पर्दाफास भएको थाहा पाएर लिन पियाओ पार्टी र सेनाको विभिन्न उच्च तहमा रहेकी श्रीमती, छोरा र सबै परिवार लिएर सोभियत सङ् तिर भागे । यसैक्रममा मंगोलियाको भित्री भागमा प्लेन क्र्यास भएर तिनको मृत्यु भयो । लिनपियाओको पतनपछि बसेको दसौं महाधिवेशनले लिनपियाओ र राष्ट्रपति लिओ साओ देशमा पूँजीवाद पुनस्थापनाका केन्द्र भएको भन्दै लिओसाओलाई पार्टी सदस्यबाट समेत हटायो । तर, देङ स्याओपिङ् पुनः नेतृत्वमा आए । दसौं महाधिवेशनमा माओकी श्रीमती चियाङ् समेत चार जनाको गु्रप नेतृत्वमा हावी भएर आयो र त्यसले चिनिया कम्युनिष्ट पार्टीलाई आप्mनो नियन्त्रणमा राख्यो । १९७६ मा माओको मृत्युपछि चौगुटको सत्ता हटाउने प्रयास असफल भयो ।

 

११ औं काँग्रेसमा पार्टी अध्यक्ष भएपछि पार्टीमा देङ्सयाओ पिङ्को पकड बलियो भयो । डिसेम्बर १८, १८७८ देखि चिनियाँ चरित्रको समाजवाद र समाजवादी बजार अर्थ व्यवस्था लागु गर्ने घोषणा सँगै ११ वर्ष चलेको सांस्कृतिक क्रान्तिको पनि अन्त भयो । त्यसपछि चिनले अपनाएको खुला नीतिका कारण विश्वका पूँजीवादी देशका ठुला कम्पनीहरूले चिनमा लगानी गर्न थाले । त्यसैको परिणाम सि जिङ् पिङ्को नेतृत्वमा अहिले चिन संसारको दोस्रो ठुलो अर्थव्यवस्था बन्न पुगेको छ ।

चिनमा देङ्स्याओ पिङ्को उदयको प्रसङ्ग सकिना साथ त्यतिबेलाको तातो विषय संयुक्त जनआन्दोलनमा हामी आयौँ । मैले उहाँलाई भने पञ्चायती व्यवस्थाका विरुद्ध व्यापक रूपमा संयुक्त जनआन्दोलन उठाउने विषयमा हामीले निर्णय त ग¥यौँ तर राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर वी.पी., गणेशमान सिंहहरू नेपाल गएपछिको परिस्थितिमा अब पञ्चायती व्यवस्थाको विरोधमा व्यापक संयुक्त आन्दोलन उठाउन सम्भव होला र ? फेरि वि.पी. कोइरालाको कम्युनिस्ट विरोधी राजनीतिले देशभित्र कस्तो परिस्थिति बन्ला भन्ने प्रश्न गर्दै बि.पी. कोइरालाले २०३२ साल जेष्ठ १३ गते भारतीय प्रेसहरूलाई दिएको वक्तव्य सन्दर्भ उठाएँ । त्यस प्रेस कन्फरेन्समा उनले–“नेपालमा प्रजातान्त्रिक शक्तिलाई मजबुतनबनाएमा कुनै दिन एकाबिहानै चिनले नेपालमा अधिकार जमाएको पाउने छौं । अहिले जस्तै चिन समर्थक कम्युनिस्टहरू बढ्दै जाने हो भने एकदिन उनीहरूबाट नेपाल ढाकिने छ ।” यहाँ निर यो वक्तव्य निस्के पछिको एउटा घटनालाई हाम्रो कुराकानीका बीचैमा उल्लेख गर्न चाहन्छु । म काठमाडौं उपत्यकाको इन्चार्जको रूपमा त्यतिबेला काठमाडौं सङ्गठन बिस्तारमा लागेको थिएँ । हाम्रो अघोषित पार्टी कार्यालय डिल्लीबजारमा रहेको हाम्रो डेरा थियो । एकदिन एकाएक टाइम्स अफ इण्डिया बोकेर साँझतिर हिरण्यलाल श्रेष्ठ आईपुग्नु भयो । त्यस पत्रिकामा निस्केको त्यो वक्तव्य पढेर सुनाउनु भयो र हाम्रो पार्टीको वर्तमान र भावी राजनीति बारे गम्भीर बहस उठाउनु पर्छ भन्ने कुरा गर्नुभयो । त्यसपछि केही पैसा उठाएर साथीहरूले मलाई वाराणसी पठाए । बाटो भरि मेरो मनमा धेरै तर्क वितर्क उठे । अब यस्तो नीतिले देशमा कसरी क्रान्ति हुन्छ भनेर बनारस पुगेपछि कडकेरै झगडा गर्ने हो आदि ।

म एकाबिहानै करिब ४ बजे वाराणसीको क्यान्ट स्टेशनमा उत्रेर रेक्सा चढेर मैदागिनमा रेक्साबाट उत्रेर पैदल करिब ५ बजेतिर ढोका पनि नखुल्दै दश पुत्र गल्लीको हाम्रो केन्द्रीय कार्यालयमा ढोका ढकढक्याउन पुगेको थिएँ । बाहिर गल्लीबाट बोलाएपछि माइलदाइ कपडा सपडा लाएर एकोेहोरो घुम्न जाने हिसाबले ढोका खोल्न आउनु भयो । त्यति बेलासम्म अरु साथी उठेका थिएनन् । चारै बजे उठेर घर साफ गरेर लुगा धोइवरी नुहाएर उहाँ तम्तयार हुनु भएको रहेछ । नुहाई धुवाई गरेर आराम गर्नुहोस् म एक घण्टामा घुमेर आउँछु त्यसपछि सबैलेसँगै चिया पिउँला भन्नुभयो तर म अति आवेगमा थिएँ र हतारमा छु तुरुन्तै काठमाडौं फर्कने हो भन्दै उहाँसँग मर्निङ वाक जाने कुरा गरें । त्यसपछि दुग्ध विनायकमा सधैं चिया पिउने दुकानमा चिया पिएर मैदागिन पार्कमा घुम्न निस्क्यौं । उहाँसँग प्रायः चियाको पैसा तिर्ने पैसा पनि हुन्थेन । उहाँ र उहाँसँग आएका साथी भाइहरुको पैसा दुकान्दारले टिपेट राख्दथ्यो । जिल्लाबाट आउने मनकारी साथीहरुले एकमुष्ट हिसाब गरेर तिरिदिन्थे । सधै जसो वाराणसी जाँदा मैले पनि जोडेर पुरानो बाँकी हिसाब तिरी दिन्थें । तर त्यस पटक मेरो मन माइला दाइसँग कुरा गर्न एकदमै हतारिएको थियो । चियाको हिसाब गरी राख्न दुकानदारलाई मैले भनिनँ । यसमा उहाँले कुनै वास्ता पनि गर्नु भएन । घुम्दै गर्दा मैदागिन पार्क पुगेपछि उहाँले सन्चो–विसन्चो र जिल्लामा रहेका साथीहरूको बारेमा सोध्नुभयो । मैले साधारणरूपमा सानो सानो जवाफ दिएको थिएँ । ती सबमा मेरोे भावनात्मक आवेग प्रवेग उहाँले देख्नु भएन । त्यसपछि सिधैं यसपटक वाराणसी आउनाको कारण सोध्नु भएको थियो । उहाँले यति के सोध्नु भएको थियो मैले आप्mनो उत्तेजना रोक्न सकिन र काँग्रेसको पुच्छर समातेर हामी कसरी वैतरणी तर्न सक्छौं ? अब यस्तो नीतिले राजतन्त्र समाप्त पारी नयाँ जनवादी व्यवस्थाका निम्ति सङ्घर्ष अगाडि बढ्न सक्दछ ? भन्ने प्रश्न राखे । त्यसपछि उहाँले ‘अरु केही भन्नुछ’ भनेर सोध्नु भयो । मैले आफ्नो यसै प्रश्नको उत्तर तपाईबाट खोज्न काठमाडौंबाट यहाँ आएको हो भनेँ । उहाँले हाँस्दै पार्कमा ५÷६ फन्का घुमाएर चिनियाँ कम्युनिष्ट पार्टीको जापान विरोधी युद्धमा लिएको नीति नेपालमा रहेका कम्युनिस्ट नेताहरूले पुष्पलाललाई काँग्रेसको पुच्छर भन्दै एक समयमा एउटा मात्र मुख्य शत्रुको विरोध गर्नु गलत हो भन्ने कुराहरू दरबारबाट पञ्चायती व्यवस्था विरोधमा रहेका आपसमा मतभेद राख्ने पार्टीहरूलाई लडाउन लिएको नीति आदिको लामो व्याख्या गर्नुभयो । त्यसबाट म सन्तुष्ट भएँ । उहाँको व्याख्याबाट सम्पूर्ण रूपमा प्रभावित भएपछि अब काठमाडौं फर्केर अरु जोसका साथ काम गर्ने अठोट व्यक्त गरें । त्यतिबेला उहाँले मलाई २÷३ दिन बसेर मात्र फर्कन भन्नु भएको थियो ।

हामी पार्कबाट फर्केर दुग्ध विनायक आयौँ फेरि चिया पियौँ । फर्कनै लाग्दा मैले दुकानदार नथुने सरदारको पुरानो खाताको सबै चियाको पैसा तिरें करिब २००।– जति भएको रहेछ । दुकानबाट बाहिर निकाल्दा माइलदाइ मेरो मुख हेरेर हास्नु भएको थियो । म पनि हाँसेको थिए । पुनः त्यही संयुक्त आन्दोलनको विषय पुनरावृत्ति हुँदा उहाँले मैदागिन पार्कमा हामी बीच भएको कुराकानीको प्रसङ्ग पुनः त्यही संयुक्त आन्दोलनको विषय पुनरावृत्ति हुँदा उहाँले मैदागिन पार्कमा हामी बीच भएको कुराकानीको प्रसङ्ग सम्झाउनु भएको थियो । त्यो समय र प्रसङ्गमा अहिले केही नयाँ कुरा मात्र थपिएको थियो ।

अहिले फेरि मैले बुद्ध परिनिर्वाण मन्दिर प्राङ्गणमा नेपाली काँग्रेसका बारे कुरा हुँदा उसले लिएको राष्ट्रिय मेलमिलापको पूरा व्याख्या गरेर मेरो दिमागलाई साफ र शान्त बनाइ दिनुभयो । उहाँको यो व्याख्याको अन्तिम निचोड थियो– अन्तर्राष्ट्रिय पूँजीवादको सहयोग आफूलाई प्राप्त होस्, नेपालमा कम्युनिस्टहरूलाई रोक्न सक्ने शक्ति म मात्र हुँ भन्ने देखाउन वि.पी.ले समयसमयमा यस्ता खालका स्टन्टहरूबाट हौवा खडा गरी रहन्छन् । विश्वेश्वरप्रसाद कोइरालाले चाहेर या नचाहेर संयुक्त जन आन्दोलन रोक्न सम्भव छैन । २०३२ सालको वि.पी.को वक्तव्यको सिक्वेन्स अहिलेको राष्ट्रिय मेलमिलापको नीतिसँग जोडियो नि माइलदाइ भनेर यस पटकको कुरामा थपें । उहाँले भन्नुभयो–कुनै पनि घटनाको पर्दा पछाडि विभिन्न उथल पुथलहरू भैरहेका हुन्छन् । अहिलेको राष्ट्रिय मेलमिलापको नीति लिने पूर्व तयारीको रुपमा त्यस वक्तव्यलाई लिनुपर्छ । यी सब कुरा हुँदा थाहै नपाई तीन घण्टाभन्दा बढी समय भएछ ।

माइल दाइले अरु केही जिज्ञासा छ भन्दा मैले अहिले मनमा उठेका यति नै विषय हुन् भने र हामी परिनिर्वाण मन्दिरबाट बाहिर निस्केर होटलमा १÷१ समोसा र चिया खाएर कसिया फर्कियौँ । कसिया पुग्ना साथ त्यहाँ खाना खान लागिएन । साथीहरूसँग विदा भएर हामी तानसेन फर्कियौँ ।

पाल्पा तानसेन फर्किएको ४÷५ महिनापछि एकदिन साँझ मकहाँ पुराना कम्युनिस्ट नेता जसलाई २००७ सालको क्रान्तिमा भाग लिन वर्माको नेकपाको एकाइले नेपाल पठाइएको थियो, वहाँ वि.आर.राई आइ पुग्नुभयो । त्यतिबेला विष्णुबहादुर मानन्धरसँग मिलेर डा. केशर जंगको विरोध गर्दै हुनुहुन्थ्यो । उहाँ त्यसै प्रसङ्गमा कुराकानी सुनाउन म कहाँ आउनु भएको होला भनी मैले सोचें तर आउने बित्तिकै साधारण लवजमा उहाँले दिल्लीमा पुष्पलालजीको निधन भएको समाचार सुनाउनु भयो । मलाई विश्वास लागेन । साँझ ८ः१५ को विविसी हिन्दी समाचार पर्खेर एकिन गर्न खोजें । वहाँले सत्य कुरा भन्नु भएको रहेछ । विविसीले नेपालका कम्युनिस्ट नेता पुष्पलालको पार्थिव शरीर नेपाल ल्याउन नेपाल सरकारले नमानेको समाचार प्रसारण ग¥यो । उहाँका अनुयायीहरूले उहाँको अस्तु पछि काठमाडौं लैजाने कुरा बताएको समाचार भन्यो । म समाचार सुनेर टोलाइ रहें । माल्दाइसँग भएको अन्तिम भेट र उहाँका वाणीहरु उहाँको हसिलो, सहज र मायालु अनुहार मेरो मानसपटलमा स्थिर रहे ।त्यसको तीन चार दिन पछि वि.वि.सी.ले अर्को समाचार दियो, पुष्पलालको अस्तु उनका अनुयायीहरूले काठमाडौं लगे । त्रिभुवन एयरपोर्टमा विशाल मानव सागर उर्लियो । आप्mना नेतालाई श्रद्धाञ्जली दिन त्यो अस्तु आफ्ना दाजु गंगालाल र सहिद दशरथ चन्द लाई गोली हानेको ठाउँ शोभा भगवतीमा लगेर विर्सजन गरियो ।

 

यो विशाल मानव सागरलाई वि.वि.सी.ले अभूतपूर्व भनेको थियो । यो अस्तु काठमाडौं लैजान रामचन्द्र चापागाईं र रामबहादुर भण्डारीलाई जिम्मा दिइएको थियो । अस्तु रामचन्द्र (आर.सी.) ले लगे भने सबै चाँजोपाँजो मिलाउने काम रामबहादुर भण्डारीले (आर.वी.) गरे ।(२०७८सालमा प्रकासित मेरो पुस्तक ’मैले देखेको र भोगेको कम्युनिस्ट आन्दोलन झबाट साभार । फुटनोटहरु समेत पुरा दिन नसकेकोमा क्षमा माग्द छु ।
एकराज पाण्डेको फेसबुकबाट तानिएको हो ।