होल्डिङ सेन्टरका सुकुम्वासीको बिचल्ली

बुटवल, साउन ७ गते । सरकारले काठमाडौँ उपत्यकाका नदीकिनाराबाट हटाई विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासी समस्यामा परेका छन् । बर्खाको समयमा बस्ने ठाउं नभएपछि उनीहरु बिचल्लीमा परेका छन् ।

अहिले होल्डिङ सेन्टरमा बसिरहेका विभिन्न जिल्लाका २९ जना सुकुम्वासी परिवारलाई भूमि समस्या समाधान समितिले आआफ्नो गृहजिल्ला जान परिपत्र गरेको छ ।

समितिले एक सूचना जारी गर्दै अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका २९ परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्पर्क गर्न भनिएको छ ।

भूमिव्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार ती परिवारको नेपालभर कतै पनि घरजग्गा रहे÷नरहेको भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत जाँचबुझ गरिएको थियो ।

विभागले ती परिवारको नाममा कुनै पनि जग्गा फेला नपरेको प्रतिवेदन दिएपछि समितिले उनीहरूको स्थायी ठेगाना भएका सम्बन्धित जिल्लामा जग्गा उपलब्ध गराउन सिफारिस गरेको हो । उनीहरूको डिजिटल विवरण, आवेदन फारम र संलग्न कागजातसहितको फाइल सम्बन्धित जिल्ला समितिमा पठाइसकेको समितिले जनाएको छ ।

सूचनामा विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका २९ जनाको नामावली सार्वजनिक गरिएको छ । सूचीमा सिन्धुली, सर्लाही, काठमाडौँ, सुनसरी, धनकुटा, मोरङ, सिन्धुपाल्चोक, महोत्तरी, झापा, भोजपुरलगायतका जिल्ला स्थायी ठेगाना भएका परिवार छन् ।

हाल उनीहरू सिन्धुपाल्चोकको बनेपास्थित रेडक्रस तालिम केन्द्र, काठमाडौँ कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग, भक्तपुरको नगरकोटस्थित खानेपानी तालिम केन्द्र र भक्तपुरकै बोडेस्थित कृषि तालिम केन्द्रमा बस्दै आएका छन् ।