राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बन्ला ?

 

 

 

पदमुक्त हुने राष्ट्रिय सभाका यी २० सांसदहरु

बुटवल, १० कार्तिक/आगामी फागुन २० गते बीस जना राष्ट्रिय सभाका सदस्यको चार वर्षे कार्यकाल सकिने भएपछि राजनितिक दलहरुमा जोडघटाउन सुरु भएको छ ।
संविधानको धारा ६८ को उपधारा ३ र राष्ट्रिय सभा नियमावली २०७५ को नियम २०८ को व्यवस्थाअनुसार संघीय सदस्य, राष्ट्रिय सभाका सदस्यहरुको चार वर्षे पदावधि आगामी फागुन २० गते सकिन लागेको हो । पदावधि सकिने भएपछि निर्वाचन आयोगले नयाँ चुनाव गर्न सरकारसंग सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ चुनावको सिफारिस गरेका हुन् तर सरकारले कुनै निर्णय गरिसेको छैन ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ। सोही व्यवस्था अनुसार आगामी फागुन २० गते जना राष्ट्रिय सभाका सदस्यको चार वर्षे कार्यकाल सकिन लागेको हो।
पदमुक्त हुन लागेका एमाले सांसदहरुमा अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल छन्।
त्यस्तै कांग्रेस सांसदहरुमा दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी र माओवादी केन्द्र सांसदहरुमा खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहाल पदमुक्त हुन लागेका हुन्।
यसैगरी पदमुक्त हुने एकीकृत समाजवादीका सांसदहरुमा उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शानितकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर छन् त्यस्तै मनोनीत सांसद रामनारायण बिडारी पनि पदमुक्त हुन लागेका छन्।
यसैगरी चन्द्रबहादुर खड्काको स्थानमा गत जेठ १७ गते भएको उपनिर्वाचनबाट निर्वाचित दृग नारायण पाण्डेको कार्यकाल पनि आगामी फागुन २० गते नै सकिने राष्ट्रयसभा सचिवालयले जनाएको छ।
२०७४ साल फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यको गोला प्रथाबाट कार्यकाल तय गरिएको थियो। जसमध्ये गोला तान्दा २ वर्ष कार्यकालको गोला तान्नेहरु अघिल्लो वर्ष नै बिदा भएका थिए भने ४ वर्षको तान्नेहरु आगामी फागुन २० गतेबाट बिदा हुन लागेका हुन् ।
सरकारले केही दिनभित्रै उपनिर्वाचन घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले उपनिर्वाचन गर्न ९० दिन आवश्यक हुने जानकारी सरकारलाई दिइसकेको छ । त्यस हिसाबले हेर्दा आगामी माघसम्ममा उपनिर्वाचन हुने देखिन्छ।
यो उपनिर्वाचनले आगामी आम चुनावको नतिजाको संकेत त गर्नेछ । त्यसभन्दा बढी सत्तारुढ पाँच दलबीच चुनावी गठबन्धन हुन्छ हुँदैन, यही उपनिर्वाचनले स्पष्ट गर्नेछ । अहिले चासोको विषय बनेको छ–उपनिर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बन्ला ? कुनकुन दलले गठबन्धन गर्लान् ?