कवि भूपि शेचरचन वामपन्थी प्रगतिशील थिए –अमिक

बुटवल, पुस १०। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले स्वर्गीय कवि भूपि शेरचन कुनै एउटा समुदायको मात्र नभई सिंगो राष्ट्रको धरोहर भएको बताएका छन् । शनिबार बुटवलमा भूपि शेरचनको ६८ औं जन्म जयन्ती एवं भूपि स्मृति पुस्तकालयको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले कवि भूपि शेरचन सामूहिक भावनाका धनी एवं उनका विचार र सिर्जनाहरु देशप्रति समर्पित रहेका स्मरण गरे । कवि भूपि शेरचन वामपन्थी प्रगतिशील बीचारका रहेको उल्लेख गर्दै कवि भूपि शेरचनले नेपाली साहित्यको क्षेत्रमा ठूलो योगदान रहेकाले जती व्याख्या गरेपनि अपुरो हुने बताए।
भूपि शेरचन समाजमा व्याप्त भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्ध आवाज उठाउने व्यक्ति रहेको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले भूपिले बलिदान र त्याग विना परिवर्तन हुंदैन भन्ने विचार स्थापित गरेको दावी गरे।
प्रदेश प्रमुख शेरचनले व्यवस्था परिवर्तन भएपनि कुर्सीमा पुगेपछि नेताहरुमा सामन्ती संस्कार र सामन्ती चिन्तनका अवशेष बांकी रहेको बताए। डाक्टर हिरण्यलाल ज्ञवालीले राज्यले कवि भूपि शेरचनलाई सम्मान दिन नसकेको बताए। भूपि स्मृति पुस्तकालयको उद्घाटन कार्यक्रममारुपन्देही जिल्ला सहकारी संघका अध्यक्ष भीम तुलाचन,क्याप्टेन शिवप्रसाद शेरचन लगायतले बोल्दै कवि भूपि शेरचनको योगदानलाई उच्च कदर गर्नुपर्नेमा जोड दिए ।