गहुँ खेतीबारे २५ जना किसानलाई तालिम


बुटवल, फागुन ६ गते । उन्नत गहुँ खेती प्रविधिसम्बन्धी रुपन्देहीमा २५ जना किसानलाई एकहप्ते तालिम सञ्चालन गरिएको छ ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत देशभरका २५ जना किसानलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट दिइने तालिम यही फागुन ११ गतेसम्म चल्ने छ ।

विकास गरिएका नयाँ गहुँका जात र आधुनिक खेती प्रविधिबारे किसानलाई जानकारी दिने उद्देश्यकासाथ तालिम आयोजना गरिएको हो ।
प्रचार प्रसारको अभावले धेरै किसान अझै पनि पुरानै जात प्रयोग गरिरहेका छन् जसले गर्दा उत्पादन उल्लेख्य रूपमा बढ्न सकेको छैन । तालिममा जलवायु परिवर्तन सहन सक्ने गहुँका जातबारे जानकारी दिने, भौगोलिक क्षेत्रअनुसार उपयुक्त जात छनोट गर्ने तरिका, उत्पादन वृद्धि गर्ने प्रभावकारी उपाय अभ्यासमार्फत सिकाइदै छ । बीउ व्यवस्थापन, मलखाद प्रयोग र सिँचाइ व्यवस्थापनबारे पनि किसानहरुलाई सिकाइने छ ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक रोशन बस्नेतका अनुसार नेपालमा खाद्य सुरक्षासँगै पोषण सुरक्षालाई प्राथमिकता दिँदै पछिल्लो ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरिएको बताउनुभयो । केही जात सिफारिसको चरणमा छन् भने १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइएका छन् ।

प्रचार–प्रसारको अभावका कारण किसानलाई नयाँ जातको जानकारी नहुनु र पुराना जातको बीउ प्रयोग गर्दा उत्पादन घट्ने गरेको कृषि विज्ञहरुले बताएका छन् ।
कृषि विज्ञहरुका अनुसार नयाँ जात प्रभावकारी रूपमा किसानसम्म पु¥याउन सके र मलखाद तथा सिँचाइको उचित व्यवस्था मिलाउन सके नेपाल गहुँमा आत्मनिर्भर बन्ने छ ।
सरकारी तथ्यांक अनुसार नेपालमा गहु वार्षिक २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन उत्पादन हुने र करिब ४ लाख मेट्रिक टन गहुँ आयात हुने गरेको छ । गहुंमा नेपाल अझै आत्मनिर्भर हुन नसकेकोप्रति सरोकारवालाहरुले सरकारप्रति गुनासो गर्दै आएका छन् ।























