रुपन्देही–४ः पूर्वसांसद र नयाँबीच रोचक प्रतिस्पर्धा


बुटवल, फागुन ६ गते । रुपन्देहीस्थित नेपाल भारतको सीमावर्ती पालिका समेटिएको सदरमुकाम भैरहवाबाट नजिकै दूरीमा रहेको विकासका दृष्टिले पिछडिएको क्षेत्र न–४ मा आधारभूत मानवीय आवश्यकताका विषयलाई लिएर बिरासत जोगाउने र स्थापित गर्ने उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

जिल्लाको सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिकाको २–६ वडा, सियारी गाउँपालिकाको वडा ४ र ५ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा २, १२ र १३ समेटिएको क्षेत्रमा विगतदेखि विभिन्न दलबाट उम्मेदवार बन्दै आएका सर्वेन्द्रनाथ शुक्ला यसपाली जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका छन्, भने ०७४ को संसदीय निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर विजयी भएका प्रमोद यादव यसपटक कांग्रेसबाट टिकट नपाएकाले पार्टी परिवर्तन गर्दै एमालेबाट उम्मेदवार बनेका छन् ।
संसदीय यात्रामा पुगिसकेका द्धय पूर्वसांसद शुक्ला र यादव विरासत जोगाउन कस्सिएका बेला संसद भवन पुग्नका लागि काँग्रेस, रास्वपा र जनमतका उम्मेदवार रोक्ने प्रयत्नमा लागेकाले रुपन्देही–४ को चुनाव निकै रोचक हुने अनुमान गरिएको छ । नेपाली काँग्रेसबाट आशुतोष मिश्र, जनमत पार्टीबाट भूपेन्द्र यादव र यसअघि प्रदेश सभामा लोसपाबाट जितेका कन्हैया बानियाँले राजीनामा दिएर रास्वपाबाट उम्मेदवार बनेकाले पाँच जनाबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका शुक्ला आठौंपटक चुनौवी मैदानमा छन् । कांग्रेसबाट उम्मेदवार बनेर ०७४ मा शुक्लालाई पराजित गरेका यादव ०७९ मा तिनै शुक्लासँग पराजय भोगेका उनी अहिले मनोनयनकै दिन कांग्रेस छाडेर एमाले प्रवेश गरेर हारको बदला लिने दाउमा छन् । सो क्षेत्रको विगतका चुनावी रेकर्ड हेर्ने हो भने मधेशवादी दलबीच प्रतिस्पर्धा भएकोमा यसपटक भने अवस्था बद्लिएको छ ।
२०४८ को आम निर्वाचनदेखि ०७९ सम्मको प्रतिनिधिसभा निर्वाचनसम्मको चुनावी तथ्यांक अनुसार दुईदुई पटक कांग्रेस र एमालेले दोहोरिएर जितेका देखिन्छ त्यसबाहेक यसक्षेत्रका मतदाताले विभिन्न पार्टी र उम्मेदवारलाई जिताएकाले यसपाली कसले बाजी मार्छ भन्ने आँकलन गर्न कठिन छ । आम निर्वाचन २०५६ मा नेपाली कांग्रेसका नेता भरतकुमार शाहले १५ हजार ३० मतले विजयी भएको र संविधान सभा निर्वाचन २०६४ मा १५ हजार आठ सय ८० र संविधान सभा निर्वाचन २०७० मा १९ हजार पाँच सय ७७ मत लिएर एमालेका नेता विष्णुप्रसाद पौडेललाई दुई पटक संसदमा पुर्याएको क्षेत्रमा एमालेले कांग्रेसबाट आएका यादवलाई उम्मेदवार बनाएकोले उनको अग्नि परीक्षाको रुपमा लिइएको छ ।
कांग्रेसले स्थानीय राजनीतिमा भिजेका युवा आशुतोष मिश्रालाई उम्मेदवार बनाएको छ । मतदाता भेटघाटका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाइराखेको मिश्रा बताउँछन् । सबैको साथ पाइरहेको छु, बद्लिएको कांग्रेसले मर्चवारसँगै मुलुकको मुहार बदल्नेछु । उनले भने ।
जनमतबाट भोपेन्द्रप्रसाद यादव उम्मेदवार छन् । ०७९ मा पनि उनी यहीँ पार्टीबाट उम्मेदवार बनेर तेस्रो बनेका थिए । त्यतिबेला आफूले प्राप्त गरेको मत र यसपटक सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा रहेकाले आफूलाई सहज भएको उनले बताए । जसपा नेपालका उम्मेदवार शुक्लाले भने, मर्चवारको विकास पनि गर्नुछ, संघीयतालाई सबलीकरण गर्दै जनजीविकाको हरेक पक्षमा काम गर्ने गरी अगाडि बढेको छु । एक लाख १६ हजार १ सय ७२ जना मतदाता रहेको क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा भएपनि मुख्यतः पाँच जनाबिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।























