पोखराबाट अब विश्वको यात्रा हुने


बुटवल, जेठ २७ गते । कास्की पोखराको अन्तर्राष्टिय विमानस्थलबाट अब नियमित अन्तर्राष्टिय उडान हुने भएको छ ।

संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा सिधा दैनिक उडान सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ। दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि पोखरा मध्यपूर्व, युरोप, अफ्रिका तथा विश्वका ३०० भन्दा बढी सहरसँग जोडिनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको उडान तालिका स्वीकृत गरेसँगै पोखरा अन्तर्राष्टिय विमानस्थलबाट नियमित अन्तर्राष्टिय हवाई सेवा सञ्चालन हुने निश्चित भएको हो। पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार कम्पनीको उडान तालिका सोमबार स्वीकृत भइसकेको छ र निर्धारित मितिबाट दैनिक सेवा सुरु हुनेछ।

फ्लाई दुबईको प्राविधिक तथा व्यवस्थापकीय टोलीले केही दिनअघि विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन अवस्थाको विस्तृत निरीक्षण गरेको थियो। निरीक्षणपछि कम्पनीले पोखरा रुटमा नियमित उडानका लागि प्रक्रिया अगाडि बढाएको हो।
सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्टिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाउनु अर्थपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो निर्णय पोखराको अन्तर्राष्टिय पहिचान स्थापित गर्ने ऐतिहासिक अवसर भएको बताए ।























