आर्थिक विधेयक सच्याएको अर्थमन्त्रीको दावी

बुटवल, जेठ २८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत आर्थिक विधेयकमा देखिएका त्रुटिहरू विधिसम्मत सच्याइएको दावी गरेका छन् । कर्मचारीबाट आर्थिक विधेयकमा त्रुटी भएको बताउंदै कर्मचारी तहबाट भएका मानवीय कमजोरीको जिम्मेवारी आफूले लिने अर्थमन्त्रीले बताए ।
बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले बजेट निर्माण प्रक्रिया अत्यन्तै संवेदनशील र समयको चापमा हुने भएकाले सामान्य त्रुटिहरू हुन सक्ने उल्लेख गरे ।

उनले भने,‘बजेट वक्तव्यमार्फत आय–व्ययको अनुमान प्रस्तुत गरेपछि अर्थ विधेयक संसदमा टेबल गरिएको थियो र त्यसपछि केही प्रक्रियागत कामहरू हतारमा भएकाले त्रुटि भएको देखिएको हो ।’ उनका अनुसार कर्मचारीहरू लामो समयसम्म काममा खटिएको र अन्तिम चरणमा दबाबका बीच काम गर्दा केही अस्पष्टता तथा प्राविधिक त्रुटिहरू भएको थियो । पछि ती त्रुटिहरू पहिचान भएपछि सम्बन्धित कर्मचारीहरूले सच्याउन आग्रह गरेका थिए र सोहीअनुसार विधिसम्मत रूपमा संशोधन गरिएको दावी गरे ।

अर्थमन्त्री वाग्लेले अघिल्ला वर्षहरूमा पनि यस्ता संशोधन हुने गरेको उदाहरण दिँदै यस वर्ष पनि आवश्यक संशोधन गरिएको हो भने ।