प्रीय दाई, के लेख्नु लेखे पनि तपाईले देख्ने होइन

       शुवास जीसी

के पो लेख्नु दाइरु लेखेर पनि तपाईले देख्ने होइन । तपाईको शरीर अब निर्जीव भैसक्यो । ढुङ्गा, माटो जस्तै । मलाई भने तपाईसङ्ग बोल्न मन छ। केहिवेर कुरा गर्न मन छ। कता दुख्छ दाइरु भनेर सोध्न मन छ।

हजुरको दुर्घटना पछि प्राप्त खवरले अनायासै आँसु झरे। मन हुरुक्क भयो, भारी कुराले थिँचे जस्तो, निकै उकुसमुकुस । तपाईको सम्झनामा स्मृतिमा रहेका विगतहरु आँखामा नाचिरहेका छन् । सबै सम्झनाहरुले भावविह्वल वनाउँछन्, गला अवरुद्ध हुन्छ र निकै पिडा भएर आउँछ ।

यस्तो त कसैलाई नहोस्

तपाईको भाइ भिम राना अखिल छैठौंको प्युठान जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । मैले त्यतिको व्यक्तिगत क्षमता भएको मान्छे हाम्रो संगठनमा देखेको छैन । त्यस्तो प्रतिभाशाली मान्छे कालको प्यारो हुनुभयो करिव १० वर्ष अगाडी । त्यो क्षति हामीले कहिल्यै पूरा गर्न सकेनौं ।

म अहिले स्वर्गद्वारीका हरेक कार्यक्रममा पुग्दा भिम दाईलाई सम्झिरहन्छु। भिम दाइ वितेको केही वर्ष नपुग्दै फेरि तपाईंको अर्को भाइ योगेश वित्नु भयो । उहाँ पनि उस्तै जुझारु मान्छे । त्यो क्षती पनि अपुरणिय भयो ।

अकाल मै भाईहरुको निधनवाट विछिप्त तपाईं, तपाईंको परिवार, खालको गाउँ, समाज, स्वर्गद्वारी र सिंगो पार्टी पंक्तीलाई अगाडी वढाउने जिम्मेवारी तपाईंको थियो । तपाई पालिकाको उपमेयर भएर समाजप्रति यस्तो काम गर्दै हुनुहुन्थ्यो जसले हामीलाई निकै उत्प्रेरणा मिल्थ्यो । तपाईं साँच्चिकै कम्युनिष्ट हुनुहुन्थ्यो ।

परिवारको खम्बा, समाजको मार्गदर्शक, पार्टीको जिम्मेवार सिपाही, हाम्रो निकै भरपर्दो साथी र कमरेड । विनाकुनै स्वार्थ, विनाकुनै महत्वाकांक्षा जनताको काम गर्ने मान्छे कहाँ पाइन्छरु त्यो तपाईं हुनुहुन्थ्यो ।

गत निर्वाचनमा स्वर्गद्वारी र जिल्लाका मिटिङ्गहरुमा हामी साथ साथै भयौं । स्वर्गद्वारी नगरपालिकाको भावी योजनाबारे तपाईंले निकै विस्तृत कुरा सुनाउनु भएको थियो । जिल्ला त्यो पनि पालिका स्तरमा रहेर तपाईले विकास गरेको चेतना, सोंच र योजनाले मलाई निकै प्रभावित पारेको थियो ।

प्रीय दाजी, आज जानू भयो । हामीले निकै आत्मीय कमरेडलाई गुमायौं । सुर्य वि क , ओमहरि पोख्रेल, केसर अधिकारी, नारायण जि.सि।, भिम राना जस्ता निकै महत्त्वपूर्ण गहनाहरुको लाइनमा तपाई पनि लाग्नु भयो । आज धनवाङ्ग, खाल र सिंङ्गो स्वर्गद्वारीले कति आँसु वगाएको होला  तपाईलाई चिन्ने जोसुकै प्युठानीको मन भक्कानिएको होला ।

मलाई कसैको पार्थिव शरीर हेर्न मन लाग्दैन । तर किन मनले त्यही भिर जहाँ हजुरले अन्तिम सास फेर्नुभयो त्यही पुग भनिरहेको छ। त्यो सम्भावना रहेन । निर्वाचनको मत गन्दा पार्टी अफिसमा भएको भेट नै अन्तिम भेट रहने भयो ।

प्रीय दाई, हजुर विना स्वर्गद्वारीको पार्टिले निकै रिक्तता महसुस गर्नेछ । जिल्ला पार्टीले हजुरको अभाव निकै झेल्नेछ । हजुरको परिवार कुन हालतमा होला मैले कल्पना गर्न पनि सक्दिन । यस्तो त कसैलाई नहोस् ।

अन्तमा, दाजुले बाँचुन्जेल र मृत्युको केही मिनेट अगाडी सम्म जनताको सेवामा आफुलाई समर्पित गर्नुभयो । त्यसको लागि सलाम  जिन्दगीभर पार्टी, क्रान्ती, आन्दोलन र मुक्ति संघर्षमा निस्वार्थ होमिनु भो त्यसको लागि पनि लाख लाख सलाम१ हजुरका अधुरा सपनाहरूलाई बोकेर हामी फेरि अगाडी वढ्न कोसिस गर्नेछौं ।

अलविदा प्रीय दाजी

लेखक अखिल छैठौंका केसन्द्रय अध्यक्ष ।