आफ्नो गाउँ वडा बनाउनु

गिरीप्रसाद बुढा
घन्के आज खुबै अनेक नगरा, झ्याली र यि मादल
ठूलै हर्ष खुल्यो चुनाव अहिले नाच्दै जितेको पल
यस्तो हर्षसँगै तिमी हिडिरहे आधार राम्रो भयो
आफ्नो गाउँ वडा वनाउनु तिमी आर्जेर विश्वास यो ।

जाली कर्म गरेर गाउँ घरमा तिम्रो भयो कि जित
पैशा, रक्सि र मासुभात अहिले खर्चेर आयौ कि त
यस्तै तर्क सुनिन्छ गाउँघरमा के दोष साँच्चै छ र ?
आजै छाड्नु सबै कुकर्म जगमा त्यो कर्म राम्रो गर

गर्नु आदर प्रेमले झुपडिको श्रद्धा बढाइकन
पुरा गर्नु यहाँ सबै जगतमा तिम्रा ति आश्वासन
तिम्रो कीर्ति हुनेछ सुन्दर सफा दृष्टान्त नेपालको
आफ्नो गाउँ वडा बनाउनु तिमी आर्जेर विश्वास यो

ठूलो मै हुँ भनि घमण्ड मनमा राख्दै नराखे तिमी
स्वार्थी तुच्छ हुने कुनै तरहको दर्जा नताके तिमी
जङ्गी काँध चढ्यौ र रंगहरुमा तिम्रो बढ्यो गौरव
राम्रो गाउँ बनाउने प्रतिनिधी राम्रै चुनियौ अब

चोला फेर्नु तिमी समष्ट जनको कर्तब्य तिम्रै छ नि
दिन्छौं यो शुभकामना विजयको दिन्छौं बढाई पनि
तिम्रो नाम र काम उच्च भएको सुन्ने इरादा छ यो
आफ्नो गाउँ वडा सजाउनु तिमी आर्जेर विश्वास यो ।

रुकुम पश्चिम निवासी कवि तथा साहित्यकार प्रगतिशील लेखक संघ नेपालका केन्द्रिय सचिव हुनुहुन्छ ।