दिल्लीको चालबाजी काठमाडौँले बुझेन

 धनविर पुनमगर

इतिहास कहिल्यै केवल बितेको समय मात्रै हुँदैन, त्यो वर्तमानको छायाँ र भविष्यको संकेत पनि हो । राष्ट्रहरूबीचको सम्बन्धमा मित्रताको मुस्कानभित्र स्वार्थका तहहरू लुकेका हुन्छन् । कूटनीतिमा उच्चारण गरिएका शब्दभन्दा मौनताले धेरै कुरा बोलिरहेको हुन्छ । यही यथार्थलाई नबुझ्दा साना राष्ट्रहरूले बारम्बार मूल्य चुकाएका छन् । नेपालको सन्दर्भमा पनि यही सत्य हो ।

नेपाल र भारतबीचको सम्बन्ध भूगोलले मात्र जोडेको सम्बन्ध होइन । यो संस्कृति, धर्म, भाषा, व्यापार र जनजीवनको गहिरो अन्तरसम्बन्धले निर्मित सम्बन्ध पनि हो । तर सम्बन्ध जति निकट हुन्छ, प्रभावको सम्भावना पनि त्यति नै गहिरो हुन्छ । ठूला राष्ट्रहरू आफ्ना हित सुरक्षित गर्न विभिन्न उपाय अपनाउँछन् । त्यो उनीहरूको स्वाभाविक राज्यनीति हो । अस्वाभाविक त तब हुन्छ, जब सानो राष्ट्रले आफ्नो हितको रक्षा गर्न असमर्थ हुन्छ र मित्रताको आवरणभित्र लुकेको स्वार्थ पहिचान गर्न असफल हुन्छ ।

दिल्लीले नेपाललाई हेर्ने दृष्टिकोण भावनात्मक मात्र रहेको छैन । उसको दृष्टिमा नेपाल सामरिक महत्वको भूभाग भएता पनि उत्तरतर्फ फैलिएको हिमालय र त्यसपारिको चीनसँग जोडिएको सीमारेखाले नेपाललाई दक्षिण एसियाको भू–राजनीतिक खेलमा संवेदनशील बनाएको छ । यही कारण नेपालप्रति भारतको चासो केवल छिमेकीप्रतिको सद्भाव होइन, आफ्नो सुरक्षा र रणनीतिक हितसँग पनि जोडिएको देखिन्छ ।

समस्या त्यहाँ उत्पन्न हुन्छ, जहाँ काठमाडौँले दिल्लीका कदमहरूलाई केवल सद्भावको चस्माबाट हेर्न थाल्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायी मित्र वा शत्रु हुँदैनन्, स्थायी त केवल राष्ट्रिय हित हुन्छन् । तर नेपालका वर्तमान शासक वर्गले यही आधारभूत सत्य बिर्सिएका त छैनन् ! वर्तमानमा शंका आशंका उत्पन्न भएको छ । केही दिनपहिला सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिले आम नेपाली जनतामा आशंका उत्पन्न हुनु स्वभाभिक नै बनेको छ । सत्तासिनहरूले राष्ट्रिय हितभन्दा दलगत लाभ, व्यक्तिगत सम्बन्ध वा क्षणिक राजनीतिक फाइदालाई प्राथमिकता दिएका त छैनन् ? प्रधानमन्त्रीको राष्ट्रहित विरुद्धको अभिव्यक्ति आउनु, सोही समयमा सत्तासिन पार्टीका सभापति भारत भ्रमणमा जानुले एक आपसमा के अर्थ लाग्दछ ? त्यो त परिणामले नै पुष्टि गर्दै जाला ।

सिक्किमको इतिहास यस सन्दर्भमा एउटा गम्भीर पाठ हो । एक समय स्वतन्त्र अस्तित्व बोकेको सिक्किम क्रमशः बाह्य प्रभावको घेराभित्र पुग्यो । आन्तरिक विभाजन, कमजोर राजनीतिक नेतृत्व र बाह्य शक्तिको रणनीतिक हस्तक्षेपको संगमले अन्ततः उसको सार्वभौम अस्तित्व समाप्त भयो । इतिहासका पानाहरू पल्टाउँदा थाहा हुन्छ—कुनै राष्ट्र बाहिरबाट मात्र कमजोर हुँदैन, पहिले ऊ भित्रैबाट कमजोर बनाइन्छ । जब राष्ट्रिय एकता खण्डित हुन्छ, तब बाह्य प्रभाव निर्णायक बन्न पुग्छ । कुनै पनि राष्ट्रको स्वतन्त्रता केवल संविधानमा लेखिएको शब्द होइन, त्यो राष्ट्रिय आत्मविश्वास, राजनीतिक परिपक्वता र जनचेतनाले सुरक्षित गर्ने मूल्य हो । यदि राज्यका निर्णयहरू आफ्नै राजधानीभन्दा बाहिरी शक्ति केन्द्रहरूमा बढी प्रभावित हुन थाले भने स्वतन्त्रताको अर्थ क्रमशः खोक्रो बन्दै जान्छ ।

दिल्लीको चालबाजी भन्नु कुनै षड्यन्त्रको कल्पना मात्र होइन, बरु शक्ति राजनीतिका स्वाभाविक अभ्यासहरूको संकेत पनि हो । भारत–चीनले आ–आफ्ना हित हेर्छन्, अमेरिका र अन्य वाह्य शक्तिहरूले पनि आ–आफ्नो स्वार्थ । प्रश्न दिल्लीले के ग¥यो भन्ने होइन, प्रश्न काठमाडौँले के बुझ्यो भन्ने हो । यदि काठमाडौँले आफ्नो राष्ट्रिय हित स्पष्ट रूपमा परिभाषित गर्न सकेन भने बाह्य शक्तिहरूको प्रभाव स्वाभाविक रूपमा बढ्छ । गत भदौ २३ र २४ को घटना एउटा ज्वलन्त उदाहरण हो ।

वास्तविक चिन्ताको विषय दिल्ली–वेजिङ–वाशिङ्टन होइन, काठमाडौँको कमजोरी हो । राष्ट्रिय स्वाभिमान भाषणले होइन, सक्षम राज्य संरचनाले जोगिन्छ । राजनीतिक दलहरू राष्ट्रिय मुद्दामा विभाजित हुँदा, नेतृत्व विदेशी समर्थनलाई आन्तरिक वैधताको स्रोत ठान्न थालेपछि र बौद्धिक वर्ग तत्कालीन लाभका लागि मौन बस्न थालेपछि राष्ट्रको निर्णय क्षमता कमजोर बन्छ । त्यही कमजोरी बाह्य प्रभावका लागि सबैभन्दा ठूलो मूल बाटो बन्न पुग्दछ ।

आजको विश्वमा कूटनीति भनेको कसैसँग टाढा हुने वा कसैको विरोध गर्ने कला होइन । यो सबैसँग मित्रता कायम राख्दै आफ्नो हित सुरक्षित गर्ने क्षमता हो । नेपालले भारत–चीन दुबै देशहरूसँग घनिष्ठ र सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्छ, र विश्व समुदायसँग पनि सहकार्य गर्नुपर्छ । तर यी सबै सम्बन्धहरूको केन्द्रमा नेपालको राष्ट्रिय हित हुनुपर्छ, कुनै बाह्य शक्तिको अपेक्षा होइन । इतिहासले देखाएको छ—राष्ट्रहरू बाहिरी आक्रमणभन्दा बढी आन्तरिक असावधानीका कारण संकटमा पर्छन् ।

जब काठमाडौँ आफ्नो राष्ट्रिय स्वार्थप्रति स्पष्ट, नेतृत्वप्रति उत्तरदायी र कूटनीतिमा परिपक्व बन्छ, तब कसैको चालबाजीबाट उसलाई भयको विषय रहँदैन । किनकि जागरूक राष्ट्रलाई कसैले सजिलै प्रयोग गर्न सक्दैन । इतिहासको सबैभन्दा ठूलो शिक्षा यही हो—स्वतन्त्रता सीमामा तैनाथ सेनाले मात्र होइन, सचेत चेतनाले पनि रक्षा गर्छ । र त्यो चेतना निदायो भने, दिल्ली मात्र होइन, संसारका सबै शक्ति केन्द्रहरूको चालबाजी बुझ्न काठमाडौँ असफल बन्छ । राष्ट्रको सार्वभौमिकता बाह्य हस्तक्षेपले भन्दा बढी आन्तरिक कमजोरीले जोखिममा पर्छ । त्यसैले कुनै पनि राष्ट्रका लागि सबैभन्दा ठूलो सुरक्षा भनेको जागरूक नागरिक, सक्षम नेतृत्व र स्पष्ट राष्ट्रिय दृष्टि हो । वर्तमानमा सत्तामा पुगेकाहरूसँग राष्ट्रिय दृष्टिको पक्ष कमजोर त छैन ? वर्तमानमा नेपाली जनताहरू शंकामा छन् ।

लेखक पत्रकार महासंघ भारत शाखा महासचिव र हाल युगर्दनका कार्यकारी सम्पादक हुन् ।
युगदर्शनबाट साभार