ढुवानी व्यवसायी समितिको १६ औं बार्षिक साधारणसभा सम्पन्न

व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन जोड

 

 

बुटवल/ढुवानी व्यवसायी समिति, रुपन्देहीको १६ औं बार्षिक साधारणसभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
सभामा बोल्ने यातायात क्षेत्रका अगुवाहरुले ढुवानी व्यवसायीलाई मर्यादित र व्यवस्थित बनाउदै यसमा देखिएका समस्यालाई समाधान गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका थिए । उनीहरुले ढुवानी व्यवसाय उपभोक्ताहरुसंग प्रत्यक्ष जोडिएको व्यवसाय भएका कारण त्यसमा सम्बेदनशील बन्दै व्यवसायलाई वचाएर लैजानका लागि अनुरोध गरेका थिए ।
कार्यक्रममा नेपालकै नमुना र पहिलो ढुवानी ग्राम समितिको पहल र योजनामा निमार्ण भई सञ्चालनमा आएको हुदा त्यसको डिपिआर अनुसारको काम अझै बाकि रहेको हुदा त्यसमा बुटवल उपमहानगरपालिकाले सक्रियता देखाउन आग्रह गरिएको थियो ।


सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं। १२ का अध्यक्ष डिल्ली प्रसाद शर्माले ढुवानी ग्राम सञ्चालनका क्रममा देखिएका समस्या र स्थानियवासीहरुको गुनासो छिटै सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै व्यवसायीहरुलाई आपसी समझदारीमा काम गर्न आग्रह गर्नु भएको थियो ।


कार्यक्रममा नेपाल ढुवानी व्यवसायी महासंघका सल्लाहाकार एवं समितिका पूर्व अध्यक्ष माधव नेपालले ढुवानी ग्रामको निमार्णले बुटवलको वजार व्यवस्थापनमा निकै राहात पुगेको उल्लेख गर्दै ढुवानी ग्रामलाई नेपाल कै नमुना आयोजना बनाउन सबैको सक्रियतामा जोड दिनु भएको थियो ।


महासंघका अर्का सल्लाहाकार जीतबहादुर भाटले व्यवसायीहरुको एकतामा जोड दिदै ढुवानीग्रामलाई ढुवानी व्यवसायीहरुले नै सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाले ग्राममा निमार्णको काममा भएको ढिलाई प्रति नगरपालिका जिम्मेवार बन्नु पर्ने सुझाव राख्नु भएको थियो ।


समितिका अध्यक्ष श्यामराज हमालको अध्यक्षता, महासचिव रामप्रसाद गैरेको सञ्चालन, वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठको स्वागत तथा सचिव गोविन्द श्रेष्ठको धन्यवादमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कमल लम्साल, सल्लाहाकार रामकृष्ण लोहनी, भैरव टोल विकास संस्थाकी कार्यवहाक अध्यक्ष तुल्सी गिरी लगायत बोल्नु भएको थियो ।


दोस्रो सत्रमा सम्पन्न बन्दसत्रले अध्यक्ष, महासचिव र कोषाध्यक्षको बार्षिक प्रतिवेदन छलफलपछि आवश्यक परिमार्जन गरि सर्वसम्मतले पारित गरेको थियो । सोही अवसरमा समितिको पहलमा ग्राम परिसरमा बृक्षारोपण पनि गरिएको थियो ।