अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीका विकास गुरुङ घाइते

भैरहवा, साउन ३० । रुपन्देहीमा गोली प्रहार हुँदा एक युवा घाइते भएका छन् । जिल्लाको ओमसतिया अज्ञात समूहले गोली प्रहार गर्दा सिद्धार्थनगर नगरपालिका–१, वेलहिया विकास गुरुङ घाइते भएका छन् । आइतबार राती करिब ११ बजे उनीमाथि ओमसतिया गउँपालिका–४ बसन्तपुरमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
अज्ञात समूहको प्रहारबाट गुरुङको छातीमुनि कोखामा गोली लागेको छ ।

अहिले उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज उपचार भइरहेको छ । प्रहरीका अनुसार अहिले गुरुङको स्वास्थ्य अवस्था मध्यम रहेको छ । गोली प्रहारमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले गोली प्रहार गरेको आशंकामा २ जना पक्राउ गरिएको जनाए ।

एक प्रत्यक्षदर्शीका अनुसार अज्ञात समूहले रोहिणी गाउँपालिका–१ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडि गुरुङसँग जम्काभेट भएपछि लुटपाट गर्ने समूहले गोली प्रहार गरेका हुन् । प्रहरीका अनुसरा परासीस्थित ससुराल बस्दै आएका गुरुङ राति घर फर्किँदै थिए । प्रहरीका अनुसार लुटेराहरुले उक्त कटेजबाट २ तोला सुन र केही नगद लुटेको छन् ।