नागरिकता विधेयक खारेज गर्नुपर्छ – दुर्गा पौडेल

काठमाडौं, भदौ २ गते । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ । राष्ट्रिय जनमोर्चाले नागरिकता विद्येयक राष्ट्रघाती छ भन्दै शुरुदेखि नै बिरोध गर्दै आएको थियो ।
बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिँदै विधेयक फिर्ता गर्ने कदमको स्वागत गरिन् ।
सांसद पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने बताइन । उनले यो नागरिकता विद्येयक खारेज गर्नुको विकल्प नभएको दावी गिरिन ।
नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भएको भन्दै सांसद दुर्गा पौडेलले भनिन् विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नागरिक नेपाली नागरिक योग्य हुनै सक्दैन ।
‘खुला सीमाना भएको देशमा विवाह गरेकै आधारमा नागरिकता प्राप्त गर्न योग्य हुने हो भने हामी फिजी हुने सम्भावना पनि छ’ सांसद पौडेलले भनिन्, ‘प्रायजसो देशमा (अंगीकृत नागरिकता दिन) सर्टेन टाइम राखेको पाइन्छ ।’ वास्तविक नेपालीलाई नागरिकता दिन समस्या छ भने त्यसमा सुधार गर्नुपर्ने पनि उनले बताइन् ।
गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाले सुरुदेखिनै नागरिकता विधेयकको बिरोध गर्दै आएको थियो । तर जनमोर्चाबाहेकका अन्य गठबन्धन दलहरु नागरिकता विधेयकलाई जस्ताकोत्यस्तै पारित गर्नुपर्ने पक्षमा छन् । यसबारे गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले आन्तरिक सहमति समेत गरिसकेका छन् ।
अब फेरी राष्ट्रपतिलाई विद्येयक फिर्ता पठाउने छुट संविधानले दिएको छैन । तसर्थ राष्ट्रपतिबाट जस्ताको त्यस्तै नागरिकता विधेयक प्रमाणिकरण हुने सम्भावना बढी छ ।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विद्येयक प्रतिनिधिसभाबाट पास भएपछि देशभरका साथै विदेशस्थित नेपालीले नागरिकता विद्येयक खारेज गर्न माग गरेका छन् ।