निर्वाचन आचारसंहिता अनुगमनको जिम्मा राष्ट्रिय अनुसन्धान विभागलाई, महासंघको बिरोध
![](https://nayadishaonline.com/wp-content/uploads/2022/10/mahasang.jpg)
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/357622966_794524715535073_6037331566326578600_n.jpg)
बुटवल, असोज २८ गते । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएपछि पत्रकार महासंघले तयसको बिरोध गरेको छ ।
शुक्रबार नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले विज्ञप्ती जारी गरी बिरोध जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए–नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति हाम्रो असमति छ ।
आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ ।
नेपाली सञ्चारजगतले स्वनियमनको सिद्धान्तअनुसार सञ्चारक्षेत्र आफैंले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौं ।
यस्तै आयोगले चुनाव प्रचार÷प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि महासंघको ध्यानाकर्षण भएको छ । लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने कुरामा महासंघ विश्वस्त छ । संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएकोले तत्काल सञ्चाएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार÷प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/308463823_1115005542726158_1075373799681304027_n.jpg)