आज गोवद्र्वन पूजा र नेपाल संवत् ११४३ आरम्भ

बुटवल, कार्तिक ९ गते । आज गोवद्र्वन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ ।
कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्व सम्झिने गरिन्छ । भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ ।
गोवद्र्वनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् ।
आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातुबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलाई जुवा भनिन्छ ।
आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरू लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ । यी नै गोरुहरू अनि बहरका लागि आजको दिन पिठो, नुन, चोकर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिहुन हालेर बनेको गिलो रोटी अर्थात् बावर खान दिइन्छ ।
नेपाल संवत् ११४३ आरम्भ । आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी जातीय एकता र पुर्ख्रयौली साझा मौलिक संस्कृतिका रूपमा विकास भएको म्ह पूजालाई आफ्नो–आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रूपमा मनाइन्छ ।
विशेषतः नेवार समुदायले मान्ने यो संवत् नेपालको मौलिक संवत् पनि हो ।