रुपन्देही २ मा राजमोको समर्थन नेमकिपालाई

बुटवल, कार्तिक ११ गते । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारालाई सहयोग गर्ने भएको छ ।
गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी भएपछि राजमोले नेमकिपालाई सहयोग गर्ने स्पष्ट पारेको हो ।
गठबन्धनका तीन दलले भने जनमुक्ति पार्टीका उम्मेदवारलाई सहयोग गर्ने भएका छन् ।
यही कात्तिक ९ गते चार दलको तर्फबाट जनमुक्ति पार्टीका उम्मेदवारलाई सहयोग गर्ने भनी प्रेशित विज्ञप्तिमा आफ्नो पार्टीको तर्फबाट ‘भूलबस’ हस्ताक्षर भएको अध्यक्ष चित्रबहादुर केसीले स्पष्ट पारेका छन् ।
जनमुक्ति पार्टी जातीबादी पार्टी भएकाले सहयोग र समर्थन गर्न नस’किने राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताए ।
यस्तै राष्ट्रिय जनमोर्चा रुपन्देहीले पनि रुपन्देही २ मा जनमुक्ति पार्टीलाई सहयोग नगर्ने र गठबन्धनका साझा उम्मेदवार राजु गुरुगंको प्राविधि कमजोरीका कारण खारेजी भएपछि नेमकिपाका हरि सुन्दर वासीलाई सहयोग गर्ने राजमो रुपन्देही सचिव टानबहादुर केसीले विज्ञप्ती निकाली बताएका छन् ।
   अध्यक्ष केसीद्वारा शुक्रबार जारी विज्ञप्तीको पूर्णपाठ
मिति २०७९ साल कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चारदलीय गठबन्धनको बैठकले रुपन्देही जिल्ला संघीय निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको हुनाले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा हाम्रो दलको तर्फबाट अध्यक्ष चित्रबहादुर केसीको पनि हस्ताक्षर भएको थियो । राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलबस हुन गएको छ । हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौँ ।

२०७९ कार्तिक ११ गते
चित्रबहादुर केसी
अध्यक्ष