जनताको इच्छा र अपेक्षा अनुसार काम गर्छु – विष्णु पौडेल

बुटवल, कार्तिक २८ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
एमालेको तर्फबाट रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता पौडेलले जनताको इच्छा र अपेक्षाअनुसार नै काम गर्ने प्रतिवद्धता बताउंदै उनले भने – मतदाताहरुले कुनै पनि संकोच मान्न प्रर्दैन सबैको भावना बुझेर काम गर्ने छु ।
स्थानीय तथा राष्ट्रिय आवश्यकतालाई बुझेर सोही अनुसारको बिकास पूर्वाधार निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए । संयुक्त मधेसी समाजले सोमबार बुटवलमा आयोजना गरेको बृहत मधेसी भेलालाई सम्बोधन गर्दै पौडेलले सबै जात–जाति धर्म समुदायलाई समेट्नेगरी भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकास आजको आवश्यकता रहेको औंल्याए ।
आगामी मंसिर–४ को निर्वाचनमा निसंकोच सूर्यमा मतदान गर्न आग्रह गर्दै एमालेले जनताको मतलाई खेर जान नदिने दाबी गरे । मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने क्षमता एमालेसँग भएको बताउँदै उनले सूर्यमा मतदान गरेर सही निर्णय गरिएछ भन्ने अनुभूति जनतलाई दिलाएरै छाड्ने प्रतिवद्धता दोहोर्याए । शिक्षा तथा स्वास्थ्यको विकास तथा सीपमूलक प्राविधिक शिक्षालयहरुको निर्माण गरी रोजगार तथा स्वरोजगार बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए ।
लाखौं युवाहरु रोजगारका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताउँदै उनले मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उद्योग कलकारखानाको स्थापना, पर्यटन व्यवसायको प्रवद्र्धन तथा युवाहरुको सीप र क्षमताको विकास गरी मुलुकलाई आर्थिक समृद्धिको यात्रातर्फ लैजानुपर्ने उनले बताए । यसैगरी सबै जातजाति र धर्म समुदायप्रति राज्यले समान दृष्टिकोण राखेर उनीहरुको विकासमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।