आमहड्तालको प्रभाव : बन्दकर्ता सडकमा, सुरक्षा व्यवस्था कडा

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले आह्वान गरेको आमहड्तालको बुटवल सहित देशभर प्रभाव देखिएको छ । संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा प्रचण्ड नेपाल समूहले देशब्यापी आमहड्तालको आह्वान गरेको हो ।

सो समूहका कार्यकर्ता विहानै देखि सडक देखिएका छन् । छिटफुट साना गाडीहरु संचालन भए पनि सार्वजनिक यातायातका साधन संचालन नहुँदा सर्वसाधारणलाई भने समस्या भएको छ । बन्दका कारण विहानै देखि शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्प छन् । बन्दका क्रममा एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान, परीक्षामा सहभागी हुने विद्यार्थीका सवारीसाधन भने सञ्चालनमा आएका छन् ।

बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न बुधबार नै विज्ञप्ती जारी गरी आह्वान गरेको थियो ।

त्यसैगरि परीक्षा दिने विद्यार्थी, प्रवेश पत्र लिएर जाने विद्यार्थीलाई सवारी साधन लियर जाँदा छुट दिने बन्दकर्ता बताएका छन् ।

यता बुटवलमा भने बन्दकर्ताहरुले मिलनचोक, राजमार्ग चौराह, योगिकुटीमा सवारी साधन संचालनमा अवरोध गरेका छन् । त्यस्तै कपिलवस्तु, अर्घाखाँची, गुल्मी दांगलगाएतका जिल्लाहरुमा समेत बन्दको प्रभाव देखिएको छ ।