इसेसाकीको आकाशमा अस्ताएकी चेली

दिल साहानी
श्रद्धाञ्जली २
इसेसाकीको आकाशमा अस्ताएकी चेली
तिमी गल्कोटको खोला टोलामा जन्मेर
गाउँ घरमा नै खाई खेली हुर्केर
खुट्टा लाग्ने भए पछि
बुटबलमा झरिथ्यौ
केही बर्ष यतै बसेर
कठोर कठिन संघर्षका दिन झेले पछि
विदेशमा गई केही गर्छुृ भन्ने संकल्प गर्दै
आफ्नो र आफ्ना परिवारको भाग्य र भविष्य चम्काउँछु भन्दै
आधा दशक अघि जापान पुगिथ्यौ
इसेसाकीमा नै बसेर
दिन रात रगत पसिना बगाएर
हड्डी छाला गलाएर
धन पैसा पनि जोरिथ्यौ
एउटा बस्ने बास आफ्नै माटोमा बनाउँछु भनेर
एक टुक्रा जमीन पनि खरिद गरिथ्यौ
अब छिट्टै आफ्नै देशमा फर्केर
एउटा बुकुरो खडा गरेर
परिवारको बीचमा
आफ्नै इष्ट मित्र संगी साथीका बीचमा
सुखका दिन विताउने सपना पनि देखिथ्यौ
आफ्नै आमाको काखमा फर्किने तयारीमा पनि जुटिथ्यौ
तर पनि
बिना कुनै कारण
कुनि किन दुश्मनका आँखाका कसिंगर बन्न पुग्यो तिमी
कुनि किन शत्रुका आक्रमणको शिकार बन्न पुग्यौ तिमी
कुनि किन तिमीलाई एक्लो पारेर
तिम्रै कोठामा पुगेर
तिमीमाथि मध्यरातमा बर्बर छुरी प्रहार गर्यो हत्याराले
कुनि किन तिम्रो कोमल शरीरमाथि छुरीका बर्षा गर्यो ज्यानमाराले
तिम्रो फूल जस्तो कोमल शरीर छत बिछत पार्यो क्रूर नर पिचासले
तिमीलाई आफ्नै रगतका आहालमा डुवाइयो खुनी शैतानले
यसका सठीक उत्तर पाउन बाँकी नै छ अझै
यसको उत्तर पनि पाइदै जाला
यसभित्र लुकेको रहस्य पनि खुल्दै जाला
पर्दा पछाडिको. कथा पनि सामुन्ने आउँदै गर्ला
हत्याराले पनि जघन्य अपराधको उचित सजाय
ढिलो चाँडो अवश्य पनि पाउँदै जाला
आफ्नो कालो करतूतको फल पनि भोग्दै जाला
तिम्रो विभत्स हत्याको खबरले
आफन्तजनका आँखामा बगेका बलिन्द्र आँसुका धारा पनि थामिदै जाला
मुटुमा लागेको घाउ पनि पुरिदै जाला
तर पनि तिमीले
जुन सपना देखेर आमाको काख छोडिथ्यौ
जुन सपना देखेर दू्र दशमा पुगिथ्यौ
जुन सपना देखेर इसेसाकीमा दिन रात नभनेर
आफ्नो रगत पसिना बगाइथ्यौ
आफ्नो हड्डी छाला गलाइथ्यौ
आफ्ना आमाको काखमा पर्खिने रहरलाई दबाएर
यतिका बर्ष बिताइथ्यौ
त्यो अधुृरै रहने भयो
त्यो अपुरै रहने भयो
बल्ल बल्ल जब तिमीले आफ्ना सपना साकार पार्न
स्वदेश फर्किने सुर कसिकी थियौ
आततायी हत्याराको दुई चार मिनट कै छुरी प्रहारले
तिम्रोे इहलिला समाप्त गरिदियो
तिम्रा सब योजना परियोजना
तिम्रा सब सपना परिकल्पना
छिया छिया पारिदियो
तहस नहस पारिदियो
चकनाचुर पारिदियो
अपशोस
गल्कोटको आकाशमा झुल्केकी तिमी चेली
आफ्नो मातृभूमिका पाइला टेक्न नपाई
उतै इसेसाकीको आकाशमा अस्तायौ ।
७–८–२०७९ ( २३–११–२०२२ )