राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनीको दाङमा मतदान

बुटवल, माघ २५ गते । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन शुरु भएको छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले आज बिहान १० बजेदेखि निर्वाचन प्रक्रिया शुरु भएको र दिउसो ३ बजेसम्म मतदानको समय तोकिएको जानकारी गराएका छन् ।
मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा चलिरहेको छ । मतदान सकिना साथ मतगणना शुरु गर्ने र मतगणना सकिएको एक घन्टाभित्रै परिणाम सार्वजनिक भइसक्ने कार्यालयले बताएको छ ।
राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ गते तीन दलबाट तीन जनाको उम्मेaदवारी दर्ता भएको छ ।
जसमध्ये सत्तारुढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । सत्तारुढ एमालेका उम्मेदवार कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यले उम्मेदवार छन् । नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी छन् ।
गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन थालेको हो ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् ।
प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन् ।
जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये नेपाली कांग्रेसले ४८ पालिकामा जितेको छ । एमालेले २७, माओवादीले २५, जसपाले ३, राष्ट्रिय जनमोर्चा र लोसपाले दुईदुई तथा राप्रपा र जनता प्रगतिशीलले एकएक स्थानमा जितेका छन् ।
८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार– चार, जसपा, लोसपा र जनमतले तीन– तीन स्थान, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले एक– एक सिट जितेका छन् ।
स्वतन्त्रबाट ३ जनाले निर्वाचन जितेपनि एक जना माओवादी केन्द्रमै फर्किएका छन् ।