एमाले सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन पनि फिर्ता

बुटवल, फागुन १५ गते । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीले सरकार छोड्ने निर्णयगरेसंगै एमालेको तर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुले सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् ।
बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागेपनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्नेबारे कुनै निर्णय नभएको उनले बताए ।