लोकतान्त्रिक प्यानल प्रदेशमा प्रगतिशीलको सहभागिता, सचिव र सदस्यमा सहमती

बुटवल । प्रगतिशील पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेशले उम्मेद्वारी फिर्ता लिएको छ । विपुल पोख्रेल नेतृत्वको साझा प्यानललाई सघाउन लुम्बिनी प्रदेशमा उपाध्यक्ष र महासचिव पदमा दिइएको उम्मेद्वारी फिर्ता लिने निर्णय गरेको प्रगतिशील पत्रकार संघका सचिव श्यामलाल पोखरेलले जनाकारी दिए । केन्द्रीय एलाइन्स, प्रदेश एलाइन्स र जिल्ला एलाइन्सलाई मध्यनजर गर्दै दुइ पदमा दिइएको उम्मेद्वारी फिर्ता लिइएको उनले बताए । उनका अनुसार लुम्बिनी प्रदेशका सचिव र सदस्य पदमा भने उम्मेद्वारी फिर्ता भएको छैन् ।
लुम्बिनी प्रदेशमा संयुक्त प्यानलले आफ्नो संगठनलाई वेवास्ता गरेकाले उम्मेद्वारी दिनु परे पनि अन्ततः केन्द्र, प्रदेश र जिल्लाको समीकरणलाई मध्यनजर गर्दै सहमती कायम भएको प्रगतिशीलका केन्द्रीय अध्यक्ष एवम् संयुक्त प्यानलका समावेशी उपाध्यक्षका उम्मेद्वार उदय जिएमले बताए ।
संघ, प्रदेश र जिल्लामा यही चैत्र २५ गते हुने पत्रकार महासंघको निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनेछ । निर्वाचनमा प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी, प्रगतीशील लगायतका ११ वटा संगठनले संयुक्त प्यानलका लागि विपुल पोख्रेल नेतृत्वलाई सर्मथन गरी सकेका छन् भने ओली नेतृत्वको प्रेस चौतारी लगायतका संगठन छुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् ।