सैनामैना मेमोरियलमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

  बुटवल, जेठ १६ गते । रुपन्देहीको सैनामैना नगरपालिका वजडा नम्बर १ मा सन्चालित सैनामैना मेमोरियल स्कुलमा अध्ययनरत विद्यार्थीको संस्था सैनामैना मेमोरियल जुनियर रेडक्रस सर्कलले रक्तदान कार्यक्रम गरेको छ ।
गणतन्त्र दिवसको अवसर पारेर मंगलबार विद्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको जु.रे.स. अध्यक्ष निकिता चौहानले जानकारी गराइन ।
उक्त अवसरमा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुका साथै इच्क्षुक अभिभावकहरु तथा स्थानीयको सहभागिता रहेको थियो ।

विद्यालयका प्राचार्य जे.बि.क्षेत्रीले विद्यार्थीलाई रक्तदान जस्तो पवित्र कार्यमा जोड्ने र सोको महत्त्व बुझाउने अभिप्रायले उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष एवम प्रमुख अतिथि बुद्धिमान थापाले विद्यार्थीले आफ्नै तहबाट आयोजना गरेको कार्यक्रम अनुकरणीय रहेको बताउदै यस्ता प्रकारका सामाजिक कार्यमा हुने सहभागिताले विद्यार्थीमा नेतृत्व क्षमताको बिकास हुने बताए । रचनात्मक कार्यक्रमले समाजसेवी भावनाको बिकासमा महत्वपूर्ण योदना पुग्ने अध्यक्ष थापाले बताए ।

ब्लड बैंक बुटवलको प्राबिधिक सहयोगमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।