तीनाउ नदी आसपासको वस्ती जोखिममा

 बुटवल, असार १७ गते । वर्षात शुरुभएपछि बुटवलको तीनाउ नदी आसपासका वस्तीहरु जोखिममा परेका छन् । लामो समयको खडेरीपछि तीनाउ नदीमा आएको बाढीले नदी आसपास क्षेत्रेका वस्तीहरु जोखिममा परेका हुन् ।

शुक्रबारको वर्षापछि तीनाउमा आएको बाढीले खतराको सूचक पार गरेको हो । तिनाउ नदी किनारमा बसोवास गर्दै आएकाहरुले असुरक्षित महसु गरेका छन् ।
नदी निकारको क्षेत्रमा अव्यवस्थित रुपमा बसोवास गर्दै आएकाहरु वर्षा शुरुहुन थालेपछि त्रसित बन्ने गर्दछन् । तीनाउ आसपासका वस्तीमा बस्नेहरु बाढीको डरले रातीको समयमा निद्रा पर्न छाडेको बताउछन् । बुटवलको तीनाउ र दानव नदी आसपासका क्षेत्रमा बसोबास गरेकाहरु बर्षाैदेखि त्रासै त्रासमा दिन बिताईरहेका छन् ।

अव्यवस्थित बसोवासीले वर्षौ अघिदेखि तीनाउ र दानव नदीको उचित तटबन्धनको माग गरेपनि अहिलेसम्म तटबन्धन हुन नसकेको मजुवा चित्रबहादुर थापाले गुनासो गरे ।
नदीको बहाव क्षेत्र मानिने क्षेत्रमा आउन सक्ने सम्भावित जोखिम कम गर्न कसैको ध्यान नगएको स्थानीयको गुनासो छ । तीनाउ नदी किनार क्षेत्रका वस्तीहरु विनापाते, हात्तिसुढ, खयरघारी, प्रगतिनगर, मजुवा, रानीगञ्ज, माझगाउं लगायत दर्जन भन्दा बढी वस्तीहरु जोखिममा छन् ।

तीनाउमा आउने प्रत्येक बर्षको बाढीले ति वस्तीहरुमा क्षती पराएको छ । जसका कारण ति वस्तीमा बसोवास गर्दै आएकाहरु आकाशमा विजुली चम्कन थालेपछि त्रसित बन्ने गरेका छन् । तीनाउमा आउने बाढीबाट जोगिनका लागि वर्षको समयमा रातभर जागारा बस्ने गरिएको बाबुलाल परियाको गुनासो छ ।

२०५९ सालदेखि तीनाउ किनारमा वस्ती बसेको हो । २०७३ साल साउन ११ गते तीनाउमा आएको बाढीले झोलुङे पुल बगाएको थियो, भने नदी किनारका १५ घर बाढीले बगाएको थियो । त्यस्तै २ सय बढी घर डुबानमा परेका थिए । २०७८ सालमा तीनाउमा आएको बाढीले २ जनालाई बगाएको थियो ।

तीनाउको तटीय क्षेत्र अहिले जोखिममा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । तीनाउ तटीय क्षेत्रका वासिन्दालाइृ सतर्कता रहन महाशाखाले आग्रह गरेको छ ।