११ महिनाको अबधीमा झण्डै १२ लाख नेपाली विदेश गए

 बुटवल, असार १७ गते । रोजगारी र अध्ययनका लागि करिब ११ महिनाको अवधीमा १२ लाख नेपाली विदेश गएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश गएका हुन् । यो चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ११ लाख ६२ हजार ७ सय २४ नेपाली विभिन्न प्रयोजनका लागि विदेश गएको अध्यागमन विभागको तथ्यांक देखाएको छ । रोजगारी र अध्ययनका लागि मात्रै बिदेसिनेको संख्या ८ लाख ५० हजारभन्दा बढी छ ।

वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा श्रमका लागि म्यानपावर कम्पनीमार्फत् विदेसिएका नेपालीको संख्या सबैभन्दा बढी छ । अधिकांश कामदार भएर खाडी मुलुक गएका छन् । अघिल्लो वर्ष श्रमकै लागि ६ लाख २८ हजार नेपाली विदेसिएकोमा यो वर्ष असार १३ गतेसम्म मात्रै ७ लाख तीन हजार विदेश गएका छन् ।

पछिल्ला ५ वर्षको तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा विदेसिनेको संख्या उच्च देखिएको छ । यसरी श्रमका लागि विदेश जानेमा युवाहरुको संख्या बढी छ । यो वर्षमात्रै ४ लाख ३६ हजारले पहिलोपटक श्रम स्वीकृति लिएका छन् । नेपालबाट संस्थागत रुपमा १ सय ११ र व्यक्तिगत पहलमा थप ६७ गरी १ सय ७८ मुलुकमा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पनि बढेको छ । यस वर्ष ७१ मुलुकमा अध्ययनका लागि १ लाख ५ हजार ९२ विद्यार्थीले अनुमति लिएको अध्यागमन विभागले बताएको छ ।