आरन पेशाका लागि तिलोत्तमाले बाड्यो औजार

बुटवल, असार १९ गते । नयां–नयां प्रविधिको विकाससंगै परम्परागत आरन पेशा लोपउन्मुख अवस्था पुगेको छ । आरन सञ्चालन गरेर फलामजन्य घरेलु औजार तथा भांडा बनाउने पेशा संकटमा पर्दै गएपछि स्थानीय सरकारले चासो दिन थालेका छन् ।


पुस्तौ पुस्तादेखि बाउवाजेका पालादेखिको आरन पेशा संकटमा परेपछि रुपन्देहीको तिलोत्तामा नगरपालिकाले चासो दिएको छ । आरन पेशाको संरक्षणका लागि तिलोत्तमाले मंगलबार आरन पेशालाई आवश्यक पर्ने औजार वितरण गरेको छ ।

लोपउन्मुख अवस्थामा पुगेको आरन पेशालाई प्रयोगमा ल्याउने उद्वेश्यले उक्त पेशामा लाग्नेहरुका लागि नगरपालिकाले औजार वितरण गरेको हो । आरन पेश गर्ने र गर्न इच्छुकहरुलाई आवश्यक पर्ने औजारहरु नगरपालिकाले बाडेको हो ।

समाजमा रहेका हरेक पेशा व्यवासयलाई चल्न दिनुपर्ने र पछिल्लो समयमा संकटको अवस्थामा रहेको आरन पेशा संरक्षण गर्ने उद्वेश्यले आवश्यक पर्ने औजार सहयोग गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले बताए । सबै पेशा व्यवसायको संरक्षण गर्ने दायित्व पुरा गर्न नगरपालिकाको योजना रहेको नगरप्रमुख खांणले बताए ।
धेरै पुरानो आरन पेशाको संरक्षण गरी नयां पुस्तालाई आर्कषित गर्ने र रोजगार बढाउने नगरपालिकाको योजना छ ।

तिलोत्तममा ६ जना आरन व्यवसायीले औजारको माग गरेका थिए । आरन पेशा गर्न चाहेका व्यवसायीले हाते गे्रलेण्डर, ग्रील मेशीन, कटर, डिल मेशीन, रञ्जा, हतौसा, पंखाको माग गरेका छन् ।
पछिल्लो केही वर्ष यतादेखि बुटवल, र शंकरनगर आसपासमा सञ्चालित आरनहरु बन्द भएका छन् ।

आरन पेशा गर्ने व्यवसायीलाई आवश्यक पर्ने औजारका लागि ३ लाख बजेट विनियोजन गरिएको र आवश्यक अनुसार बजेट थप्दै जाने नगरपालिकाले बताएको छ ।