प्रधानमन्त्री प्रचण्ड पत्नी शोकमा

बुटवल, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी शोकमा परेका छन् । प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।

सीता दाहाल

सीता दाहाल प्रचण्डकी पत्नीसंगै माओवादीकी सल्लाहाकार थिइन् । वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो । सीता दाहाल वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा लागेकी माओवादीका नेताहरुले बताएका छन् ।

जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै सीता दाहाल पनि २०५२ सालदेखि भूमिगत भएकी थिइन् ।