सर्पले डसेरका बिरामीको उपचारमा समस्या, उपचार केन्द्र बन्द

बुटवल, साउन १ गते । नवलपरासीमा सुविधायुक्त उपकरण नहुंदा सर्पले डसेरका बिरामीहरुको उपचारमा समस्या भएको छ । पछिल्ला वर्षहरुमा नवलपरासीमा सर्पदंशका बिरामीहरुको संख्या बढ्दै गएको छ । तर सर्पदंशको उपचार गराउंदै आएका संस्थाहरुमा आइसियु र भेन्टिलेटरको सेवा नहुंदा गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई जोखिम मोलेर अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको चिकित्सकहरुले बताएका छन् ।

 

नवलपरासीमा पृथ्वीचन्द्र जिल्ला अस्पताल,बर्दघाटस्थित चिसापानी अस्पताल र त्रिवेणीस्थित नेपाली सेनाको ब्यारेकमा सर्पदंशका बिरामीहरुको उपचार हुंदै आएको छ । त्यस्तै सुनवल नगरपालिकाको सहयोगमा प्रहरी युक्ती महाविद्यालय जर्गाहामा निर्माण गरिएको सर्पदंश उपचार केन्द्र औषधि नभएर बन्द गरिएको छ ।
सर्पदंशको उपचार हुने तीन वटा संस्थामा आइसियु र भेन्टिलेटरको सुविधा छैन । उक्त सुविधा नहुंदा बिरामीहरुलाई भैरहवा, बुटवल र चितवन पठाउने गरिएको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा ५ बेडसहितको आइसियु कक्षमा २ वटा भेन्टिलेर भएपनि जनशक्ति अभावका कारण सेवा सञ्चालन गर्न नसक्दा गम्भीर अवस्थाका बिरामीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाउने गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए ।

सर्पदंशका बिरामीहरुमध्ये ३० देखि ४० प्रतिशत विषालु सर्पले डसेर आउने गरेका छन् । उनीहरु सबैलाई पहिलो डोज औषधि दिएर अन्यन्त्र पठाउने गरिएको छ ।
आर्थिक वर्ष २०७९ साउनदेखि २०८० असारमसान्तसम्म जिल्लामा ६ सय ३४ जनालाई सर्पले टोकेको छ ।