उच्च अदालत तुल्सीपुर, बुटवलले लक्ष्य अनुसार मुद्वा फछ्यौट गर्न सकेन

बुटवल, साउन ४ गते । उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आर्थिक वर्ष ०७९।०८० मा जम्मा ६०.३२ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । अदालतले बिहीबार अदालत परिसरमा पत्रकार सम्मेलन गरी एक वर्षको अवधीमा ६०.३२ प्रतिशत मुद्वा फछ्यौट भएको जानकारी गराएको हो ।

२०८० असार मसान्तसम्ममा अदालतमा परेका मुद्दाको विवरण र फछ्यौट भएका नभएका मुद्दा हरुको प्रगतिबारे अदालतका रजिष्टार अच्युत कुइकेलले जानकारी गराए । उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले एक वर्षको अवधीमा २३ सय ४६ वटा मुद्दा फछ्यौट भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
०७९ ।२०८०मा १६ सय ५३ वटा मुद्दा फछ्यौट हुन बांकी रहेका थिए, भने नयां दर्ता २१ सय २२ गरी ३७ सय ७५ वटा मुद्दामा   जम्मा २३ सय ४६ वटा मुद्वा फछ्यौट भएको जानकारी गराईएको छ । वार्षिक पछ्यौट २४ सय ५४ वटा मुद्वा फछ्यौट गर्ने उच्च अदालत तुल्सीपुर, बुटवल इजालसको लक्ष्य भएपनि लक्ष्य पुरा हुन नसकेको रजिष्टार अच्युत कुइकेलले जानकारी गराए ।

रजिष्टार अच्युत कुइकेलका अनुसार आर्थिक वर्ष ०७९ ।०८० मा दर्ता भएका मुद्वामध्य फछ्यौट हुन १५ सय ४३ वटा मुद्वा बांकी रहेका छन् । सोही पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत तुल्सीपुर, बुटवल इजालसका न्यायधिश नित्यानन्द पाण्डेयले अदालतमा मुद्दाहरुको संख्या बढेको बताए ।
कार्यसम्पादनमा कमी नभएपनि प्रत्येक अदालतमा संख्यात्मक रुपले मुद्दाहरु बढ्दै गएको बताए । उनले आवश्यक अनुसार कर्मचारीको अभाव र भवन व्यवस्थित नहुंदा लक्ष्य अनुसार मुद्दाहरु फछ्यौट हुन नसकेपनि कार्यसम्पादनमा कमी नआएको दाबी गरे । नयां शासन प्रणालीमा संघीय, प्रदेश र स्थानीय सरकारवीच काममा समस्या उत्पन्न हुंदा पनि मुद्दाको संख्या बढेको न्यायधिश नित्यानन्द पाण्डेयको भनाइ छ ।

उच्च अदालत तुल्सीपुर, बुटवल इजालस अन्तर्गतका जिल्ला रुपन्देहीसहित अर्घाखांची, कपिलवस्तु, गुल्मी, नवलपरासी, र पाल्पामा फछ्यौट भएका मुद्दाहरुको संख्या र प्रतिशत पनि सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष ०७९।०८० मा रुपन्देहीमा ८३ सय ९४ वटा मुद्वामा ४८ सय ६० मुद्दा फछ्यौट भएका छन् भने ३५ सय ३४ वटा मुद्वा फछ्यौट हुन बांकी छ । फछ्यौट भएका मुद्दाको प्रतिशतको आधारमा रुपन्देहीमा ५७.८९ प्रतिशत मुद्दा फछ्यौट भएका छन् । अर्घाखांचीमा ४७.७० प्रतिशत मुद्दा फछ्यौछ भएका छन् । अर्घाखांचमिा ५ सय २७ मुद्दामा २ सय ५१ मुद्दा फछ्यौट भएका छन्, भने २ सय ७६ वटा मुद्दा फछ्यौट हुन बांकी छन् ।

कपिलवस्तुमा ४४ प्रतिशत मात्रै मुद्दा फछ्यौट भएका छन् । ४१ सय ८१ वटा मुढामा १८ सय ४० वटा मुद्दा फछ्यौट भएका छन्, भने २ सय २१ वटा मुद्दा फछ्यौट हुन बांकी छन् ।
गुल्मीमा ८०.८९ प्रतिशत मुद्दा फछ्यौट भएका छन् । ७ सय १२ मुद्दामध्ये ५ सय ७६ वटा मुद्दा फछ्यौट भएका छन्। भने १ सय ३६ मुद्दा फछ्यौट हुन बांकी छन् ।
यस्तै नवलपरासीमा ५०.५२ प्रतिशत मुद्दा फछ्यौट भएका छन् । ३५ सय ३३ मुद्दामध्ये नवलपरासीमा १७ सय ८५ मुद्दा फछ्यौट भएका छन्, भने १७ सय ४८ वटा मुद्दा फछ्यौट हुन बांकी छन् ।

पाल्पामा ७२ प्रतिशत मुद्दा फछ्यौट भएका छन् । १ हजार १६ वटा मुद्वामा ७ सय ३१ मुद्दा फछ्यौट भएका छन्, भने २ सय ८५ वटा मुद्दा फछ्यौट हुन बांकी छन् ।
उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले बिहीबार आयोजित पत्रकार सम्मेलनमा वितरित प्रगति विवरण गरिएको पत्रमा यो तथ्यांक उल्लेख छ ।